झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

झापा । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।

आर्थिक वर्ष २०६९/७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिनुभयो । झोलुङ्गे पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबाट स्थानीय पालिकामा बजेट आउने र निर्माणको प्राविधिक र सामाजिक सहयोग स्थानीय सहारा नेपालले गर्दै आएको नेपालले बताउनुभयो ।

झापा जिल्लामा कनकाई, बिरिङ, निन्दा, मेची, हडिया, रतुवा, देउनिया, फुलबासा, टिमाइलगायत दर्जनौँ साना र ठूला नदी रहेका छन् । पक्की पुल नभएको र पुराना काठका पुल जीर्ण भएको स्थानमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको छ । गत आर्थिक वर्षमा आठ वटा झोलुङ्गे पुल निर्माण भएका र चालु आर्थिक वर्षको छ महिनामा तीन वटाको निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयो । आठ वटा पुल क्रमागतरुपमा निर्माण भइरहेको छ ।

चालू आर्थिक वर्षमा थप चार स्थानमा झोलुङ्गे पुल निर्माणको प्रारम्भिक काम अघि बढाइएको र २६ वटा पुल निर्माणका लागि सर्भे गर्ने कार्यक्रम रहेको बताइएको छ । सरकारले गरिबी निवारणमा टेवा पुर्याउने, सामाजिक तथा आर्थिक स्रोत एवम् अवसरमा स्थानीयको पहुँच बढाउने उद्देश्यले झोलुङ्गे पुल निर्माणलाई देशभर नै तीव्ररुपमा अघि बढाएको छ । झोलुङ्गे पुल कार्यक्रमले जनाएअनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्त समितिमार्फत र त्योभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गरिएको छ ।

स्थानीय पालिका र उपभोक्ता समितिमार्फत बनाइने पुलको प्राविधिक सहयोगमा सहारा नेपालले सहयोग गर्दै आएको हो । सङ्घीय योजनाअन्तर्गत झोलुङ्गे पुल निर्माणका लागि लाग्ने कूल बजेटमा केन्द्रीय अनुदान ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत र समुदायको श्रमदान दुई प्रतिशत सहभागिता रहने गरेको छ । तर, प्रदेश सरकारको योजनाअन्तर्गतका झोलुङ्गे पुल निर्माणमा सरकारको ९८ प्रतिशत र समुदायको जनश्रमदान दुई प्रतिशत रहने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा मेचीनगर नगरपालिका-१४ को हडिया खोला झोलुङ्गे पुल, अर्जुनधारा नगरपालिका-२ मा घिमिरे टोल गाँजाबारी झोलुङ्गे पुल र शिवसताक्षी नपा-१० मा नुनमाटी खोला दोमुखा झोलुङ्गे पुल निर्माण गरिएको छ । शिवसताक्षी नगरपालिका-१ को धरमपुर ट्रस पुल, विर्तामोड नगरपालिका-७ मा देउनिया खोला पुल, कचनकवल गाउँपालिका-१ मा भेलामुनी मरलवस्ती पुल, झापा गाउँपालिका-१ सितुमारी मिलनबस्ती पुल, अर्जनधारा नगरपालिका-२ मा सहकाले ट्रस पुल, विर्तामोड-४ मा विर्तामोड ट्रस पुल, कनकाइ नगरपालिका-८ मा घाग्राखोला ट्रस पुल र गौरादह नगरपालिका-८ को गेउरिया झोलुङ्गे पुल गत वर्ष निर्माण गरिएको छ ।

स्थानीय राजनीतिक दलको खिचातानीका कारण कतिपय अत्यावश्यक स्थानमा झोलुङ्गे पुल अझै बन्न सकेका छैनन् । “पुलको आवश्यकता एकातिर हुन्छ”, कार्यक्रम संयोजक नेपालले भन्नुभयो, “राजनीतिक दबाबले अर्कै ठाउँको छनोट भइरहेको हुन्छ ।” उहाँले विकास निर्माणका काम राजनीतिक हस्तक्षेपका आधारमा नभएर आवश्यकताका आधारमा हुँदा राम्रो हुने बताउनुभयो ।

कतिपय झोलुङ्गे पुल निर्धारित समयमा बन्न सकेका छैनन् । निर्माण सामग्रीको अभाव, सम्बन्धित निकायबाट समयमै फेव्रिकेशन नहुँदा कठिनाइ हुने, दक्ष मिस्त्री तथा कामदारको अभावलगायत कारणले ढिलोसमेत हुने गरेको उहाँको भनाइ छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्