विज्ञान प्रदर्शनीले विद्यार्थीमा खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गरेको छ : मेयर कोइराला

विज्ञान प्रदर्शनीले विद्यार्थीमा खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गरेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गर्नुभयो । “तपाईं विद्यार्थीहरु खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरुलाई सधैं साथ रहन्छ,” मेयर कोइरालाले भन्नुभयो, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।” मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सामुदायिक विद्यालयको स्तरवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढे निजी विद्यालयलाई आपत्ति नहुने प्रस्ट पार्नुभयो । “सामुदायिक विद्यालयमा भर्ना हुन नपाएका विद्यार्थीहरु मात्रै निजी विद्यालय र कलेजहरुमा आउँदा हुन्छ,” पोखरेलले थप्नुभयो, “विदेशतिर सामुदायिक विद्यालयमा विद्यार्थी भरिएपछि मात्रै निजी विद्यालयमा भर्ना हुन आउँछन् । यहाँ पनि त्यस्तै होस् हामी निजी शैक्षिक संस्था सञ्चालकलाई आपत्ति छैन ।

महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, हिसान मोरङ अध्यक्ष अमित ढकाल, महानगर शिक्षा समितिकी सदस्य सावित्री पराजुली, सन्तोष पोखरेल, पोखरिया माविका प्रअ खेमराज भट्टराईलगायतको उपस्थितिमा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूणर् कार्य गरेको बताउनुभयो ।
प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार त्यसबाहेक सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधामा पनि पुरस्कृत गरिनेछ । सो कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्