इन्दु साह
विराटनगर । मोरङमा यो वर्षको माघसम्ममा ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । अन्य देशको नागरिक बनेपछि नेपालको नागरिकता त्याग्नेको संख्या यो वर्ष, गत र अघिल्लो वर्षको तुलनामा धेरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार २०८० को १० महिनामा ४२ जनाले नागरिकता परित्याग गरेका छन् । २०७९ मा १९ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए भने २०७८ मा ११ जनाले परित्याग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता फाँटका नायव सुब्बा सुमनकुमार निरौलाले २०७८, २०७९ र २०८० को माघसम्ममा ७२ जनाले नागरिकता परित्याग गरेको जानकारी दिए । अन्य देशको नागरिक बनेपछि नेपाली नागरिकको प्रमाणपत्र त्यागेर उनीहरु सम्बन्धित देशमा बसोबासका लागि जाने गर्दछन् ।
निरौलाका अनुसार २०८० बैशाख १ गतेबाट यो महिनासम्म २१ हजार ३ सय नौ जनाले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका छन् । यसमध्ये ४४ वटा एन.आर.एन. नागरिकता रहेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले अन्य देशको नागरिक भएको प्रमाण प्राप्त गरेको वा प्रक्रियामा रहेको आधारमा नेपालको नागरिकता परित्यागका लागि निवेदन दिन पाइन्छ ।