विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित १७ ओभर ९ विकेट गुमाई ७७ रन बनाएको थियो । जस्मा महमद इरफानले सर्वाधिक २७ रन बनाए । कोशीका रविन मण्डलले ३ विकेट लिए ।
७८ रनको लक्ष्य पछ्याएको कोशीले ५ दशमलव २ ओभरमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोशीको जितमा म्यान अफ द म्याच रविन मण्डलले सर्वाधिक ६५ रनमा अविजित रहे । राइजिङका महमद समिर आलमले २ विकेट लिए ।
दोस्रो खेलमा अरनिको स्कुलले सगरमाथा स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेको थियो । जस्मा अमन यादव ३२ रन बनाउँदा लुसाङ गुरुङले २९ रनको योगदान दिए । सगरमाथाका विखिल साहले ३ विकेट लिए ।
१ सय ३७ रनको विजयी लक्ष्य पाएको सगरमाथाले ११ ओभरमा सबै विकेट गुमाई ४४ रनमा सिमित भयो । जस्मा सौरभ रायले सर्वाधिक ११ रन बनाए । अरनिकोका म्यान अफ म्याच लुसाङ गुरुङले सर्वाधिक ३ विकेट लिए ।