विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासहित मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ । कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ ।
मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताएका छन् । नागरिक र हात्ती दुवैलाई दुःख नहुने गरि समस्याको साधान खोज्न अभियान सुरु गरिएको दावी छ । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् ।
एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेका हुन् ।
झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । यस क्रममा मुख्यमन्त्री कार्कीले चार जिल्लाका विभिन्न २३ स्थानीय तह पुगी स्थानीयसँग साक्षात्कार गर्नेछन् । मानव जीवनको उत्पत्तिदेखि नै प्रकृति, वनजङ्गल, अन्य जीवजन्तु र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । पछिल्लो समय मानव हात्तीबिच द्वन्द्व बढ्दै गएको छ । सदियौंदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बङ्गाल क्षेत्रमा सयकडौँको सङ्ख्यामा एसियाली हात्तीहरुको प्राकृतिक वासस्थानमा विचरण गर्दै आउँछन् ।
कोशी प्रदेशका चार जिल्लामा पछिल्लो पाँच दशकयता जनसङ्ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक बासस्थानको क्षयीकरण भएको छ । झापामा मात्र २०६७ यता हात्तीसंगको द्वन्द्वमा ६५ जना र २१ हात्तीको मृत्यु भएको छ ।
हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि अभियान सार्थक हुने प्रदेशस्थित पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताए । उनले हालसम्मका अनुभवबाट सिकेर असल प्रयासहरूलाई निरन्तरता दिँदै संरक्षण एवम मानव–हात्ती सहअस्तित्वलाई अझ सफलीभूत बनाउने प्रयास भएको बताए ।
उद्घाटन कार्यक्रममा प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगनमाया थापालगायत सहभागी थिए ।