विराटनगर । संघीय सरकार मातहत सडक विभागको क्षेत्राधिकार भित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कन्चनबारी खण्ड जताततै ‘उडबखाडब’ भएको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रुपान्तरण भएको छ । सडकमा सवारी गुडिरहेको छ की ‘चाकाचुली’ खेलिरहेको छ यकिन नै हुन्न । चालकले अलिकति मात्रै ध्यान बिकेन्द्रीत गरे सवारी चिप्लिने र सडक दुर्घटना हुने निश्चित छ ।
कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्डको विराटनगर बजार क्षेत्रमा हुने अधिकांश दुर्घटना सडकको अवस्थाका कारण हुने गरेको चर्चा छ । पछिल्लो बरगाछीको दुर्घटनापछि आएका प्रतिक्रियामा विराटनगर महानगरपालिका र ट्राफिक प्रहरी केन्द्रीत धेरै थिए । तर, विराटनगर महानगरपालिका वा ट्राफिक प्रहरीलाई गाली गर्नु भनेको सडक क्षेत्राधिकारको जानकारी नहुनु थियो ।
राजमार्गको क्षेत्राधिकार संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको सडक विभाग मातहतका कार्यालयमा पर्दछ । रानी–धरान सडक विस्तारका लागि छुट्दै आयोजनाको कार्यालय सडक विभागले स्थापना गरेको छ । उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत विराटनगरको रानीदेखि संखुवासभाको किमाथाङ्कासम्मको काम चालु अवस्थामा छ । जसमध्ये रानी–धरान छलेन सडक आयोजना इटहरी कार्यालयले हेर्दछ । जुन कार्यालय सडक विभाग अन्तर्गत स्थापना गरिएको छ । त्यसैले संघीय क्षेत्राधिकार भित्र पर्ने सडक संरचनामा कुनै पनि काम गर्नु परे स्थानीय वा प्रदेश सरकारले स्वीकृति लिनुपर्दछ । जसमध्ये पनि सडक निर्माण वा मर्मत गर्न पाउने अधिकार स्थानीय तहलाई हुँदैन ।
छलेन सडक आयोजनाले निर्माण विस्तार गरेकोमध्ये विराटनगरको रानीदेखि कन्चनबारीसम्मको सडकको अवस्था कमजोर देखिन्छ । कालोपत्रे भासिएर डाँडापाखा भएपछि सवारी समेत ‘अपन–डाउन मोसन’मा गुड्ने गर्दछन् । तर, दुर्घटना बढेसँगै यसले नागरिकमा पारिरहेको असर कम गर्न विराटनगर महानगरपालिकाले छलेन सडक आयोजनासँग मर्मतका लागि आग्रह गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर क्षेत्रको सडकमा देखिएको समस्या समाधान गर्न आग्रह गरिरहेको जानकारी दिएका छन् । ‘क्षेत्राधिकार संघ अन्तर्गत पर्दछ, केहि भए गाली विराटनगर महानगरपालिकाले खाईरहेको छ’ प्रमुख प्रशासकिय अधिकृत पराजुलीले भने–सडक उनीहरुले बनाएका हुन्, गाली हामीले खाईदिनुपर्ने बाध्यता छ ।
पराजुलीसहितको महानगरपालिकाको टोलि मंगलबार मात्रै छलेन सडक आयोजनामा आफ्ना गुनासोहरु राख्न पुगेको थियो । तर, छलेन सडक समेत हेर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई तोकिएको जानकारी पाएपछि त्यसै फर्किएको थियो ।
सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर एवं छलेन सडक आयोजनाका प्रमुख साहले सडक बिग्रिएको कुरामा जानकारीमा रहेकोले रानीदेखि दुहबीसम्म मर्मतका लागि सूचना प्रकाशित गरिसकेको बताए । उनले छलेन सडक आयोजना मातहतै रहेको बताए । सडकमा ट्राफिक लाइट जडान गर्ने बजेटलाई मर्मतमा खर्च गर्न लागिएको हो ।
बिग्रनमा महानगरपालिका पनि दोषी
छलेन सडकलाई मेडियन स्ट्रिप्सले ३-३ लेनमा विभाजन गरेको छ । उत्तर–दक्षिण सडकको मेडियन स्ट्रिप्सबाट पूर्वतर्फ ३ र पश्चिम ३ लेन छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारी साधन जथाभावी गुड्ने अवस्था छ । सडकमा सवारी आवागमन हुनुपर्नेमा पार्किङले एकएक लेन सडक ओगटेको छ । पार्किङ व्यवस्थापनको कामगर्ने जिम्मेवारी स्थानीय तहको हुन्छ । अर्कोतर्फ राजमार्गमा सबै किसिमका सवारीको जाम लाग्ने गरेको छ । त्यसको व्यवस्थापन गर्नका लागि स्थानीय तहले सिटी सफारी नियन्त्रणका लागि ट्राफिकसँग आग्रह गर्नुपर्ने हुन्छ, पार्किङस्थल दिएर सवारी सडकबाट हटाउने प्रक्रियामा सहयोगी बन्नुपर्ने हुन्छ ।
त्रिदेशीय लाइफलाइन मानिएको यो सडकको विराटनगर बजार क्षेत्रमा सधैं समस्या दोहोरिने गरेको छ । सडकको भारवहन क्षमता भन्दा दोब्बर वजन बोकेका मालवहाक सवारी जतिबेलै केन्द्रभागतर्फबाट गुड्ने गरेका कारण मेडियन स्ट्रिप्सको पश्चिमतर्फ बढी समस्या हुने गरेको छ । किनकी औद्योगिक क्षेत्रका मालवस्तु बोकेर आएका सवारीको अधिक भार बोकेर आएका हुन्छन् । जुन भार वहन गर्न सक्ने क्षमताको सडक नै छैन । जुन समयमा सडकको डिजाइन भयो, त्यसबेला एकलेनको ४५ प्रतिशत भारवहन अवधारणा थियो । तर, एउटै लेनमा ४० टनका गाडी गुडिरहँदा त्यो लेन भासिएर बिग्रियो । सडकको भारवन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो ।
विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक करिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमता भन्दा तेब्बर वजन बोक्ने गरेका छन् । विराटनगरमा १० टनदेखि ४० टनसम्मको वजन भएका मालवहाक सवारी सडकमा गुड्ने गरेका हुन् । औद्योगिक क्षेत्रका मालवस्तु बोकेर आएका सवारी गुड्ने क्षेत्रमा सडकको हरिबिजोक देखिएको छ । खासगरी फलाम उद्योगका सामान बोक्ने मालवहाक सवारी सडक बिनासका माध्यम बनेका हुन् ।