अपराध अनुसन्धानका लागि अपरिचित व्यक्तिको स्केच उतार्ने ‘प्रहरी जवान’

अपराध अनुसन्धानका लागि अपरिचित व्यक्तिको स्केच उतार्ने ‘प्रहरी जवान’

सुजता लिम्बू
विराटनगर । मन र मस्तिष्कमा उब्जिएको भावना र कल्पनालाई खाली पानामा सुन्दर स्वरुप दिएर रंग भर्नु सामान्य क्षमता मानिदैन । अरुले बखानेको आधारमा चित्रमा आकार दिनु झन् सहज विषय हैन । तर, उदयपुरका चुडामणी सुयल अपराधमा संलग्नहरुको स्केच साक्षीले दिएको बयानका आधारमा उतार्ने गर्दछन् । उनी नेपाल प्रहरीका जवान हुन् । २०७८ सालदेखि नेपाल प्रहरीमा आवद्ध भएका उनी बाल्यकाल देखि नै मनमा उब्जिएका काल्पनिक चित्रहरुलाई कपीको पानामा उतारेर जीवन्त दिन्थे । त्यही कला अहिले आफ्नो कार्यक्षेत्रमा समेत सदुपयोग गरिरहेका छन् । भनिन्छ कलामा रम्नेहरु भावनाको नदीमा बेपरवाह बगिरहेका हुन्छन् ।

त्यसैले पनि होला उनी मन र मस्तिष्कले सोच्न र देख्न नसकेका अदृष्य चीजहरुलाई सुन्दर अकार दिन्छन् । उदयपुर जिल्लाको लिम्चुमबुङ गाँउपालिकामा जन्मेका उनी त्यही उनको बाल्यकाल पनि बित्यो । उमेरसँगै बढ्दै गएको रहर र सपनाहरु पछ्याउदै सदरमुकाम गाइघाट आएका रहेछन् । त्यसो त उनलाई यो चित्रकलामा भविष्य हुन्छ भन्ने कुनै ज्ञान पनि थिएन । ज्ञान हुँदो त उनी यसै क्षेत्रमा भविष्य खोज्दै काठमाण्डौमा नै रमाइरहेका हुन्थे । तर, सल्लाह, सुझाव दिने कोही नभएपछि विकल्पमा जागिरे जीवन रोजेको उनी सुनाउछन् ।

‘म सानैदेखि चित्र कोर्थे, मैले कक्षा ५ देखिनै चित्र बनाउन थालेको हो ।’ उनी सुनाउछन्,‘ मलाई यो क्षेत्रमा भविष्य हुन्छ भन्ने थाहा भएको भए यसै क्षेत्रमा स्थापित हुने थिए होला तर भन्दिने कोही भएन त्यसैले अहिले जागिरे जीवन बिताइरहेको छु ।’ उनी अहिले विविध अपराधिक घटनाहरुमा पहिचान खुल्न नसक्ने अवस्था हुँदा साक्षीले दिएको जानकारी अनुसार अनुहारलाई कपीमा कोर्छन् । सोधिएको प्रश्न अनुसार साक्षीले दिएको उत्तरलाई आधार मानेर पेन्सिल घुमाउछन् । प्रश्न गर्दैगर्दै यसरी नै उनी नचिनेका मान्छेको स्केच तयार पार्छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत उनी हालै सरुवा भइ तेह्रथुम सरुवा भएका छन् ।

उनले बनाएको स्केचको आधारमा अपराधीलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन समेत मोरङ प्रहरी सफल भएको छ । एउटा स्केच तयार हुन ३० देखि ४५ मिनेट सम्म लाग्ने गर्दछ । साक्षीको बयान, साधा कपी र पेन्सिलको माध्यमबाट अदृष्य चिजलाई एउटा स्वरुप दिन्छन् । जसले अनुसन्धनका लागि सजिलो बाटो समेत बन्ने गरेको उनी सुनाउछन् ।
गएको साउन ६ गते कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा विराटनगर ५ का ३८ वर्षीय रोहित चौधरी थिए । चौधरीलाई ३ जना युवाले गोली प्रहार गरी फरार भएका थिए । जुन घटनामा फरार रहेका मध्ये एकजनाको उनले स्केच बनाएका थिए । जसले अनुसन्धनमा धेरै सघाएको थियो । यस्तै कोशी प्रदेशको विभिन्न जिल्लामा पहिचान खुल्न नसकेको सन्दर्भमा उनैले स्केच बनाएर अनुसन्धनको बाटो खुलेको पनि घटनाहरु छन् ।

‘मैले ओखलढुंगा जिल्लामा भएको एउटा घटनाको पनि स्केच बनाएकोछु , यस्तै सुनसरीमा हतियार देखाएर लुटपाट गर्नेको गिरोह मध्ये साक्षीले देखेको अनुहार अनुसार स्केच बनाउदा एकजनाको मिलेको थियो,’ उनी भन्छन्,‘साक्षीले बुझाउन सक्दा बनाउन सहज नै हुन्छ, त्यसका लागि एकाग्रतामा डुब्नुपर्छ ।’
१२ पास गरेर अन्य पेसा अंगालेर जीवन चलाइरहेको उनी नेपाल प्रहरीमा तीन पटक सम्म कोसिस गरेका रहेछन् । नेपाली सेना, शसस्त्र प्रहरीमा समेत आवेदन दिएका उनी निक्कै पटकको कोसिसमा नेपाल प्रहरीमा छनौट भएको सुनाउछन् ।

बाध्यताले भन्दा पनि रहरले अंगालेको पेसा विभागमा कहिलेकाँही काम गर्ने मान्छेको मुल्यांकन नहुँदा निरासा छाउने गरेको उनी सुनाउछन् । आफ्नो सीपलाई निखार्न चाहान्छन् तर अवसर कहाँ र कसरी प्राप्त गर्ने भन्ने अन्यौलमा पर्ने गरेको उनी बताउछन् ।आफूलाई निखार्न विभागले दिएको तालिम पनि लिएका रहेछन् । सिकाइ जीवनभर हुने तर्क राख्दै उनी आफूलाई थप सृजनशिल बनाउन आवश्यक कोर्ष लिन मन भएपनि विविध परिस्थितिका कारण कोर्षहरु लिन सहज नभएको उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्