प्रेम देवान
विराटनगर । विभिन्न कारणले घाईते भई सडकमा अलपत्र जनावरको उद्धार गरेर उपचारका लागि विराटनगरमा भाडामा लिएको घरमा संरक्षण केन्द्र स्थापना गरिएको छ । विराटनगर–१० निवासी २५ वर्षीया एलिना प्रसाँईले विराटनगर–१ मा घर भाडा लिएर घाईते जनावरको उद्धार, उपचार र संरक्षण सेवाको काम गर्दै आएकी हुन् ।
घाईते जनावरको उद्धारपछि उपचारका लागि मासिक २० हजार रुपैँया बुझाउँदै आएकी प्रसाँईले अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने उद्देश्य राखेकी छिन् । सवारीको ठक्करले घाईते, विभिन्न रोगका कारण मरणासन्न अवस्थामा पुगेका कुकुर, गाई, बाख्रा, बिरालो जस्ता जनावरको उद्धारपछि उपचार र संरक्षण गर्न केन्द्र स्थापनाको प्रक्रिया बढाइएको हो ।
एलिना जनावर संरक्षण नेपाल नाम दिएर संस्था स्थापना गरेकी प्रसाँईले विराटनगर–१८ आईसिपी जाने सडक नजिक ६ कठ्ठा जमिन भाडामा लिएको सुनाइन् । उनले भाडामा जग्गा लिएर घाईते जनावरको संरक्षण केन्द्र स्थापना गर्न लागेकी हुन् । लामो समयदेखि नै उनी घाईते जनावरको रेखदेख तथा स्वास्थ्य उपचार गर्दै आएकी उनी यसलाई संस्थागत प्रयासमा ढाल्ने तयारीमा पुगेकी हुन् ।
विराटनगर–१ मा भाडामा लिएको घरमा अहिले २० वटा कुकुर संरक्षण गरेर राखिएको उनले जानकारी दिइन् । ती सबै विभिन्न कारणले घाईते भएकाहरु थिए । उद्धार गरेर संरक्षण केन्द्रमा लगेपछि उपचारपछि रेखदेख गरिदैं आएको हो ।
तर, घाईते कुकुरको उद्धार, उपचार र संरक्षणका लागि भाडाको घरमा उपयुक्त नहुने भएपछि खुल्ला स्थान खोजेर अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने योजना अगाडी सारिएको हो । यस अभियानमा सक्रिय सहिल प्रसाँईका अनुसार वार्षिक एकलाख भाडामा बुझाउने गरि ६ कठ्ठा जग्गा लिएर त्यहाँ अस्थायी संरक्षण केन्द्र बनाउने योजना अगाडी सारिएको छ । सातवर्ष लिज सम्झौतामा लिएको जमिनमा संरचना निर्माण गर्न भने आर्थिक अभाव भएकोले सबैसँग सहयोगको अपेक्षा समेत गरिएको छ । यसका लागि एकसय रुपँंया सहयोग गरिदिन आग्रह छ ।
अहिले दुईजना कर्मचारी समेत राखेर उद्धार, उपचार र संरक्षण गरिरहेका २० कुकुरलाई मासिक दुईलाख खर्च हुने गरेको एलिनाले सुनाइन् । यसका लागि सहयोगी हातहरुले भेटिरहेको उनी बताउँछिन् । कसैले औषधी, कसैले कुकुरलाई खुवाउने वस्तु उपलब्ध गराउने गरेको उनले बताइन् ।
एलिना जनावर संरक्षण नेपालमा आवद्ध सदस्यहरुले गत शनिबार अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने स्थानको रेखाङ्कन लगायतको काम सुरु गरेका छन् । विराटनगर–१८ का वडा अध्यक्ष जितेन्द्र साह , विराटनगर रानीका समाजसेवी अविद अलि, श्रीप्रकास यादव लगायतले सकारात्मक सहयोगको वचनवद्धता जाहेर गरेका थिए । वडा अध्यक्ष साहले जनावरको संरक्षणका लागि स्थापना हुन लागेको केन्द्रलाई व्यक्तिगत र वडा कार्यालयले समेत सहयोग गर्ने जानकारी दिए । उनले सकारात्मक कामको लागि सबैले सहयोग गर्न समेत आग्रह गरेका छन् ।
यस कार्यको लागि विराटनगरको एनि टाइम बार एन्ड रेस्टुरेन्टका संचालक आशिष देवले ६८ थान जस्ता पाता सहयोग गरेका छन् । राठी केबुल एण्ड वायरले २० थान जस्तापाता र विराटनगरका समाजसेवी अबिद अलिले तत्काल आफ्नो तर्फबाट नगद १० हजार आर्थिक गरेको प्रसाँईले बताइन् । त्यस बाहेक दक्षिणवर्ती क्षेत्रका केहि सामाजसेवीले समेत सहयोगका लागि तत्परता देखाईरहेको दावी छ ।