विराटनगर महानगरमा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान

विराटनगर महानगरमा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका क्षेत्रभित्र फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।

महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ ।

विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।

खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताए ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ ।

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिए । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताए ।

उनका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गरे ।

अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताए ।
कार्यक्रममा मेयर कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे । उनले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताए ।

नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्