विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते भएका छन् ।
बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।
कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी गाडी बुढीगंगा ४ स्थित एक जनाको घरमा पल्टिएको स्थानीयले बताएका छन् । घरमा भित्र बसेका चार जनालाई मालवाक सामान बोकेको लहरीले थिचेको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।
बिहान ७ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको दुई घण्टापछि प्रहरी टोली घटना स्थलमा पुगेर अहिले उद्धारको प्रयास गर्दै आएको छ । घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहाल, मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेसहितको टोली पुगेको छ । प्रहरी निरीक्षक न्यौपानेले क्रेनको सहयोगले घाइतेको उद्धार गर्ने काम भइरहेको बताए । ‘अहिले हामी उद्धारको लागि खटिएका छौं,’ उनले भने, ‘घरमा ३ जना बालबालिकासहित ४ जना बसेको भन्ने खबर छ । एकिन भएको छैन । त्यसैले हामी उद्धारमा लागि परेको छौं । ’
मार्बल बोकेको लहरी गाडी बुढीगंगाको जेएनजे मालर्वल उद्योगमा कच्चा पदार्थ बोकेर लगिएको बुझिएको छ ।