कोशीमा १० वर्ष मुनीका बालबालिकाको उपचार : सरकारसँग सम्झौता, प्रक्रियामा अल्झाएर नागरिकसँग पैसा

कोशीमा १० वर्ष मुनीका बालबालिकाको उपचार : सरकारसँग सम्झौता, प्रक्रियामा अल्झाएर नागरिकसँग पैसा

सुजता लिम्बू

विराटनगर । कोशी प्रदेश सरकारले दश वर्ष मुनीका बालबालिकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनलाई पनि आसा पलाएको थियो । नजिकीदै गरेको नवौं महिनाका लागि आफ्नो गर्भमा दुई सन्तानको सुखानुभूति गरिरहेकी थिइन् । त्यसैले प्रदेश सरकारले दशवर्ष मुनीका बालबालिकाका निःशुल्क उपचार गर्दा आफुले जन्म दिने सन्तानको उपचार समेत अस्पतालमै हुने आसा थियो ।

फागुन २ गते मोरङको बुढीगंगवास्थित विराट मेडिकल टिचिङ अस्पतालमा इर्फनाले जुम्ल्याहा शिशुलाई शल्याक्रियामार्फत जन्म दिइन् । जन्मिएका दुईमध्ये एउटा शिशु एनआईसियुमा राखेर उपचार गर्नुपर्ने स्थितिमा थिए ।
अस्पतालको सुझाव अनुसार शिशुलाई एनआईसियुमा राखियो र उपचार भयो । इर्फनालाई लाग्यो, सरकारले उपचार गरिरहेछ । तर, प्रदेश सरकारसँग सम्झौतामा रेफरल अस्पताल तोकिएको विराट टिचिङले जन्मने बित्तिकैको बच्चाको जन्मदर्ता मागेर पैसा लिन थाल्यो । इर्फनाका दाजु अतिकुर रहमानका अनुसार सरकारसँग सम्झौता गरेर उपचार दिन तयार भएका अस्पतालमा धमाधम बिल काट्दै पैसा असुल्दै गरेपछि आफ्नो क्षेत्रका सांसद इसराइल मन्सुरीमार्फत फोन गर्न समेत लगाइएको थियो । तर, अस्पतालले नमानेपछि ऋण काढेर ७० हजार रुपिँया बुझाएर डिस्चार्ज गराउनु परेको थियो ।

बहिनीलाई अस्पताल लिएर आउनु भएका अतिकुर रहमानले अस्पतालमा उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदा त्यहिं जन्मिएर एनआईसियुमा राखिएको शिशु उपचार खर्च बुझाए मात्रै डिस्चार्ज हुने प्रशासनले बताएको थियो । अस्पतालले जुम्ल्याहामध्ये एउटा शिशुलाई ५ गते र अर्कोलाई ८ गते डिस्चार्ज दिएको थियो ।
विपन्न परिवारका घरमुली इर्फनाका श्रीमान वैदेशिक रोजगारीमा गएको एक महिना मात्रै पुगेको थियो । ज्वाँई विदेश गएपछि बहिनीको देखभाल दाजु अतिकुरले गर्नुपर्ने थियो । सरकारले निःशुल्क उपचार गराउने भनेर सम्झौता गरेका अस्पतालहरु विभिन्न बहानामा अल्झाएर रकम भने लिईरहेको प्रदेश सांसद इसरायल मन्सुरी बताउनुहुन्छ । उहाँले विराट टिचिङमै इनरुवा नगरपालिका–१० अप्रुतना मियाँको उपचारका लागि आफैंले पठाएपनि पैसा असुलेको बताउनुभयो । ‘पाँचहजार १ सय ल्याब र २२ हजारको एआइसियुको खर्च भएको रहेछ,’ प्रदेशसभा सदस्य अन्सारीले भन्नुभयो–मैले कराउँदा कराउँदा १७ हजार चाहिँ लिएछ ।’

गत शनिबार मोरङ रंगेलीबाट फर्कदै गरेको सिटी सफारी कटहरी गाउँपालिकामा पल्टदा कटहरी–२ आदर्शटोल निवासी मन्टुराम राजबंशीकी ३ वर्षीया छोरी निस्तिया राजबंशी घाईते हुनुभयो । फागुन ५ गते साँझ घाईते बालिकालाई कोशी अस्पताल विराटनगरमा भर्ना गरियो ।
कोशी अस्पतालले दाँतको भित्रपट्टीको गिजा फाटेकोले शल्याक्रिया गर्नुपर्ने भन्दै डेन्टल सर्जन र सर्जरी भएको अस्पतालमा रेफर गरिदियो । कोशीले नोबेलमा रेफर गरेपछि आईतबार नोबेलको आकस्मिक कक्षमा बालिकालाई भर्ना गरियो । लगतै शल्याक्रिया गर्नुपर्ने भन्दै वार्डमा सारियो । सोमबार शल्याक्रिया गर्ने क्रममा राजबंशी परिवारसँग कागजात मागियो । उपचारका लागि सम्झौतामा उल्लेख भएको प्रावधान अनुसार बाबुको नागरिकता र बालबालिकाको जन्मदर्ता आवश्यक पर्दछ । त्यसपछि निवेदनका साथमा पेस गरेपछि निःशुल्क उपचार सेवा पाउने प्रावधान छ ।

तर, दुर्घटनामा परेर घाईते बालिकाको चाँडो चाँडो उपचार र शल्याक्रिया गर्नेतर्फ भन्दा पनि कागजात मगाएर अल्झाइयो । त्यहि बेला तत्काल शल्याक्रिया गर्नुपर्ने भन्दै बुबाआमालाई अतत्याएपछि पैसा बुझाउन बाहेको विकल्प राखिएन । त्यसपछि मन्टुरामले शल्याक्रिया शुल्क २९ हजार ५०० र औषधी १८ हजारको खरिद गर्नु परेको थियो । अस्पताल प्रशासनले कागजात डिस्चार्जको समयमा पेस गर्दा हुने प्रावधान विपरित पहिले कागजात माग्ने र आफन्तलाई अतल्याएर पैसा असुल्ने कम नरोकिएको हो ।

प्रदेश सांसद मनसरी सरकारसँग सम्झौता गरेका अस्पतालहरुले नागरिकसँग पैसा लिने गरेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालय सचिव सुधा देवकोटालाई सम्पर्क गर्दा फोकल पर्सनलाई भन्नुपर्ने जवाफ पाएको बताउनुभयो । मुख्यमन्त्रीसँग कुरा गर्न नसकिएकोले नागरिकसँग हार्नु परेको सुनाउनुभयो । उहाँले मुख्यमन्त्री आफैंले दशवर्ष मुनीका बालबालिकाको उपचार जिम्मा लिएको बताएपनि कार्यन्वयनको अवस्था कमजोर रहेकोले सुधार गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव डा. सुधा देवकोटाले अस्पतालहरूले कार्यक्रम बारे नबुझेर समस्या भएको हुनसक्ने दावी गर्नुभयो । निःशुल्क उपचारको विषयमा गुनासो सुन्ने फोकल पर्सन तोकिएकोले प्रत्येक अस्पतालमा सेवाग्राहीले फोकल पर्सनसँग बुझ्नुपर्ने सचिव देवकोटाको सुझाव छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले गत माघ १५ गते देखी १० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार गर्न अस्पतालहरुसँग सम्झौता गरेको थियो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले विराटनगरको नोबेल शिक्षण अस्पताल, हाम्रो अस्पताल, बुढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पताल, झापाको दमकमा रहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरी निःशुल्क उपचार गर्ने जनाएको थियो ।

यता विराट अस्पतालका फोकल पर्सन निरज श्रेष्ठले सम्झौतामा उल्लेखित प्रावधान अनुसारको प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । प्रक्रिया पुरा नगरे समस्या हुने बताए । उनले अस्पतालमा जन्मिएको बच्चाको बर्थ सर्टिफिकेट अस्पतालले दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्