इन्दु साह
विराटनगर । विराटनगर–७ स्थित शनि मन्दिरमा शनिबार भक्तजनको भीड लाग्दछ । शनिको अढैया र साढे साती दशाकालबाट जोगिन भक्तजनहरुले शनि मन्दिरको परिक्रमा गर्दछन् । शनि दशालाई दुःख दिनेको रुपमा मानिन्छ । त्यहि भएर पनि शनि दशाकालबाट जोगिन भक्तजनले विशेष पुजाअर्चना गरिरहन्छन् ।
शनिबार बिहान ३ बजे देखि १० बजेसम्म झण्डै ४०० सयदेखि ८०० जनासम्मले दशर्न गर्ने गरेका छन् । अन्य दिन समेत भक्तजनहरु आउने गरेका हुन् । यो मन्दिर १०५ वर्ष अगाडी स्थापना भएको हो । विराटनगरका उद्योगी स्व.महेन्द्र गोल्छाले यसलाई शनि राशी जस्तै डेकोरेटिभ जिर्णोद्वार गरेका थिए ।
यहाँ आउने भक्तजनले कालो कपडा , छुरी, काटि ,तेल ,चामल, कालो दाल, तिल, तिलको तेल फलफुल चढाउने गर्दछन् । कतिपय भक्तजनले आफ्नो भाकल पुराभएको खण्डमा घन्टि, त्रिशुल लगयत वस्तु यहाँ दान गर्दन् । मन्दिरमा आउने भक्तजनले शनिदेवको पुजागर्दा रोगब्याद , अन्य विभिन्न समस्या निवारण हुने विश्वासका साथ आउने गरेका छन् । भक्तजन शनिवार मन्दिर आउँदा शनि चालिसा समेत उच्चारण गर्दछन् ।
यहाँका पुजारी किरण तामाङका अनुसार १८ हप्ता सम्म शनि मन्दिरमा पुजा गर्नाले समस्या निवारण हुनेछ । पुरानो मन्दिर भएकोले यहाँ शनिवार बिहानै विराटनगरका विभिन्न स्थानबाट भक्तजन आउछन् । मन्दिर ब्यस्त सडकको छेउमा भएकोले भक्तजनको लामो लाईन लाग्नेहुदा सवारी आवागमनमा समेत समस्या हुने गरेको छ ।
विभिन्न संस्था र व्यक्तिको आर्थिक सहयोगमा मन्दिरको आवश्यक मर्मत हुदै आएको छ । श्रदालुले विषेशगरी शनिवारको दिन मन्दिर वरपर रहेका सडक ब्यक्ति र बाबाहरुलाई खाना वितरण गर्दछन् ।
जेठ महिनामा शनि जयन्ति हुन्छ । शनि जयन्तिमा मन्दिदर सजाईन्छ । भक्तजनमा प्रशाद वितरण गरिन्छ । साथै लक्ष्मिपुजा लगायत अन्य विभिन्न दिनमा मन्दिर सजाईन्छ ।
भक्तजनले चढाएको भेटि लगायत विभिन्न सामाग्री मन्दिरका पुजारीहरुले बाड्दछन् । विगत ४ वर्षदेखि ६० वर्षीय किरण तामाङ पुजारीका रुपमा कार्यरत छन् । उनीसहित यहाँ अन्य पुजारी र सफाईकर्मी गरी तिनजना छन् । मन्दिर छेउमा एउटा फलफुल तथा पूजा सामाग्री बिक्रि गर्ने सटर छ । उक्त सटरको मासिक भाडा १० हजार उठ्ने गरेको पुजारी तामाङको भनाई छ । उक्त सटरको भाडा समेत पुजारी लगायत मन्दिरमा कार्यरत पुजारीहरुले लिने गरेका छन् । मन्दिरको जम्मा ५ धुरजमिन मात्रै रहेको छ ।
यस्तो शनि राशिबारे मान्यता
शनिले एउटा राशिलाई भोग गर्न लगभग २ वर्ष ६ महिनाको समयम लाग्दछ र सम्पूर्ण १२ वटा राशिचक्रलाई भ्रमण गर्न लगभग ३० वर्ष लाग्दछ । अतस् एउटा राशिमा शनिको प्रभाव लगभग साँढेसात वर्षसम्म रहन्छ र अढैयाको समयावधि २ वर्ष ६ महिनाको हुने गर्दछ ।
शनिग्रह जुन राशिमा बस्दछ, शनिले उक्त राशि र त्यसभन्दा अगाडि र पछाडिका दुबै राशिमा समेत गरी एकै पटकमा तीन वटा राशिमा शनिको साढेसातीको प्रभाव पार्दछ । शनि जुन राशिमा उपस्थित भएको हुन्छ, त्यस राशिमा मध्य साढेसाती, गएको राशिमा अन्त्य साढेसाती र आउने राशिमा आद्य साढेसातीको प्रभाव निश्चित हुन्छ ।
जन्मकुण्डलीको आधारमा हेरिने शनिको विंशोत्तरी महादशा जम्मा १९ वर्षको र त्रिभागी महादशा १२ वर्ष ०८ महिनाको हुने गर्दछ । साढेसाती र अढैया तथा विंशोत्तरी र त्रिभागी महादशा भिन्न भिन्न विषय हुन् । राशिका आधारमा आद्य, मध्य र अन्त्य साढेसाती र अढैयाको प्रभाव रहने त छँदैछ, त्यसबाहेक आफ्नो जन्म राशिबाट चौथो, सातौं र दसौं घरमा रहेको शनिलाई पनि अरिष्ट नै मानिन्छ । यदि शनिग्रह हाम्रो जन्म कुण्डलीमा प्रतिकूल अवस्थामा बसेको छ भने व्यक्तिलाई शारीरिक, मानसिक र आर्थिक पक्षले दुःखित बनाउँछ, दिनचर्या अव्यवस्थित बन्दछ, कलह र मनमुटाव बढाउँछ, गरेको कार्यमा व्यवधान आउने हुन्छ, विविध दुःख र कष्टको सामना समेत गर्नु पर्दछ ।
शनि ग्रहले जहिलेपनि नराम्रो फल मात्रै दिन्छ भन्ने छैन यसले मानिसको जीवनमा कस्तो फल प्रदान गर्दछन् र त्यसको प्रभाव शुभ वा अशुभ के कस्तो हुन्छ र यसको विवेचना भने जन्मकुण्डलीको बाह्रवटै भाव, बाह्रवटै राशि, २७ वटै नक्षत्र, शनिको दृष्टिसम्बन्ध, गति (बक्री वा मार्गी), स्थिति, कारकत्व, व्यक्तिको चलिरहेको महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, गोचर, साढेसाती वा अढैयाको स्थिति, उच्च, नीच, स्वगृही, शत्रुगृही, भिन्नभिन्न ग्रहसँगको सम्बन्ध, अंशादिको बल, विभिन्न शुभ र अशुभ नैसर्गिक योगको निर्माण, होरा, द्रेष्काणादि विविध कुण्डली आदिका अधारमा निर्धारण गर्ने गरिन्छ ।