विराटनगर । कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाख जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ ।
दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने जानकारी निर्देशनलयले दिएको छ ।
त्यस क्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले पहिलो र दोस्रो चरण गरी चैत ७ गतेसम्म ८ हजार ३ सय ६४ खोप केन्द्र मार्फत् खोप लगाउने अभियान सञ्चालन हुने बताए ।
नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ ।