विराटनगर । सडकको क्षमता भन्दा बढी लोड बोकेको गाडीले नाला भत्काएपछि विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ । विराटनगर–२ गोपीनाथ मार्गमा निर्माणाधिन घरका लागि ठूलो ट्रकमा सिमेन्ट बोकेर आएको सवारीले नाला भत्काएपछि महानगरको नगर प्रहरीले सवारी नियन्त्रणमा लिएको हो ।
मारुती सिमेन्ट बोकेको ना ५ ख १९१४ नम्बरको मालवहाक ट्रक नियन्त्रणमा लिएर महानगरपालिकाको पार्किङमा राखिएको छ । नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार चालकले हुँदैन भन्दाभन्दै घरधनीले करकापमा पारेर मालवस्तु बोकेको ट्रक भित्री सडकमा लान लगाइएको थिया । नियन्त्रण्मा लिएको गाडी भित्रको सिमेन्ट समेत मारुती सिमेन्टकै लगानीकर्तामध्येको रहेको पाइएको छ ।
गाडी नियन्त्रणमा लिएर महानगरपालिकाको योजना महाशाखाले भत्काएको सडक मर्मतका लागि लाग्ने अनुमानित लागत तयार पार्न इन्जिनियरलाई खटाएको छ । भत्केको सडक मर्मतका लागि सम्बन्धित धनीबाट रकम असुल गरिने बताइएको छ । विराटनगरमा ट्रक व्यवसायीसँग भएको सहमति अनुसार भित्री सडक खण्डमा बढी लोड भएका मालवहाक सवारी गुड्न पाउँदैन ।
विराटनगरमा पुष्पलाल चौकमार्फत राजबंशी चौक हुँदे राजमार्ग, बरगाछी–तीनपैनी–शनिहाट हुँदै हाटखोला र हाटखोला–देवकोटा चौक–जतुवा हुँदै राजमार्गमा जाने गरी मालवहाक सवारीलाई रुट तोकिएको थियो । यो रुट बाहेक धेरै लोड भएका सवारी हिडाउन पाइदैन । भित्री सडक भत्कने गरि निर्माण सामाग्री बोकेर जाँदा विराटनगर–२ गोपीनाथ मार्गमा समेत नाला ढलेको छ ।