विराटनगर । विराट राजा कालिन दुई पोखरीलाई विराटनगर महानगरपालिकाले पुर्नजिवन दिने गरी निर्माण योजना अगाडी बढाएको छ । विराटनगर–१४ रानी बस्तीमा रहेको मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माण कार्य धमाधम भईरहेको हो ।
धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको मण्ठा विराटनगर बसपार्कबाट पाँच किलोमिटर दक्षिण मलाया रोडको ५०० मिटर पूर्वमा अवस्थित छ । रानी नाकाबाट २ किलोमिटर उत्तरमा पर्दछ ।
पोखरीले अढाई बिघा क्षेत्रफल चर्चेको छ । जहाँ शिव, पार्वतीको मन्दिर, नाग मन्दिर छ । यहाँ शिवरात्री र छठमा विशेष पुजाआजा हुने गरेको छ । मण्ठा पोखरीको जल निकालेर साउन महिनामा शिवलिङमा चढाउने प्रचलन रहेको छ । पोखरीको फैलावट १५ कठ्ठा जमिनमा रहेको छ ।
पोखरीको दक्षिणतर्फ बजरंगबली, पूर्वमा दुर्गा मन्दिर र सम्सानघाट रहेको छ । मण्ठाको पाँचसय मिटर पूर्वमा दुई बिघा क्षेत्रफलमा फैलिएको रानी पोखरी रहेको छ । सन्सारीमाईको मन्दिरसहित आकर्षण रहेको छ ।
विराट राजा कालिन सभ्यतासँग जोडिएको रानी पोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कवोल गरेको छ करोड १६ लाख ६१ हजार ७६ (मूल्य अभिबृद्धि कर र प्रोभिजनल सम समेत) रुपैयाँ र सोही विल्डर्सले मण्ठा पोखरी ग्रीनपार्कमा कवोल गरेको सात करोड ३७ लाख लाख ७९ हजार ५७४ (मूल्यअभिबृद्धि कर र प्रोभिजननल सम समेत)सम्झौता भएको हो । २०७९ माघ देखि सुरु भएको दुवै पोखरी निर्माणको काम यसको निर्माण २०८१ माघ ३० सम्ममा सक्नुपर्नेछ ।