दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने

दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीको संयुक्त आयोजनामा दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ।

विराटनगर महानगरपालिका–६ स्थित ज्वाला क्रिकेट मैदानमा फागुन १७ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने भएको हो।

मंगलबार आयोजकले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर महिला क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो।

विराटनगरका ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहने प्रतियोगिता १६ ओभरको हुने क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कक्षा १० सम्मका विद्यार्थीले सहभागी हुन पाउने प्रतियोगितामा विराटनगरको आदर्श, बालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स माध्यमिक विद्यालयका महिला खेलाडीले भाग लिने छन्।

प्रतियोगिता अन्तर्गत दैनिक २ वटा मैदानमा ३/३ वटा खेलहरू सञ्चालन हुने छन्। ‘सबै टिमबीच प्रतिस्पर्धा हुने छ,’ श्रेष्ठ भन्छन्, ‘लिगका आधारमा प्रतियोगिता गरिने छ।’ लिग चरणमा प्रतियोगिता हुने र अंकका आधारमा शीर्ष दुईवटा टोलीबीच फाइनल प्रतिस्पर्धा हुने जानकारी उनले दिए। एउटा टिमले ५ वटासम्म खेल खेल्न पाउने छ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । प्रतियोगिताका उत्कृष्ट बलर, प्लेयर अफ दी सिरिज, उत्कृष्ट विकेट किपर, उदीयमान खेलाडी र उत्कृष्ट ब्याटरले छात्रवृत्ति पाउने छन्।

उक्त प्रतियोगिताबाट छनोट भएका १४ जना उत्कृष्ट खेलाडीले सप्तरीको राजविराजमा आगामी चैतमा हुने टी–२० क्रिकेट प्रतियोगितामा खेल्न पाउने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्