विराटनगर । विराटनगरमा नेपाल टाइम्सका दुई सञ्चालकबीचको विवाद 'अपहरण तथा शरीर बन्धक कसुर' मा परिणत भएर अदालतमा विचाराधीन छ ।
संस्थापक सञ्चालक अब्दुल खताब (शाहन्शाह सिद्दीकी) र साझेदार अरुण राठीबीचको विज्ञापन कारोबार विवाद उत्कर्षमा पुगेर सिर्जित मुद्दाको पेशी बिहीबारलाई चढेको छ । मोरङ जिल्ला अदालतबाट पूर्पक्ष आदेशपछि मोरङ कारागार पठाइएका शाहन्शाह फैसला कुरेर बसिरहेकाे बताउँछन् । उनले दोषी ठहर भएर कसुर अनुसारको कैद-जरिवाना भोग्न चाहेको तर अनुसन्धान गर्नुपर्ने नाममा बारम्बार पेशी नहटाइदिन आग्रह गरेकाछन् ।
घटना २०७९ मंसिर १४ गते घटेको थियो । मंसिर १८ गते जाहेरवाला अरुण राठीले प्रहरीमा शाहन्शाह सिद्दीकी बिरुद्ध जाहेरी दिएका थिए ।
२०७९ साल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालयमा आफुलाई उपस्थित गराएका सिद्दीकीलाइ अदालतले २०७९ साल पौष २८ गते पुर्पक्षको लागि थुनामा राख्ने र उनका ड्राइभर जय कुमार रामलाई १ लाख रुपैया धरौटीमा छोड्ने आदेश गरेको थियो ।
राठीले आरोप लगाएको जस्तो कसुर आफुले नगरेको बताउने सिद्दीकी दुई साझेदार बीच भएको आपसी मतभेदको कारण आफु कारागारमा बस्नु परेको बताउछन् ।
उता नेपाल टाइम्सका साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दिकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ ।
यस्तो छ सिद्दीकी-राठीबीचको घटना र अदालती प्रक्रिया
शाहन्शाह सिद्दीकी र अरुण राठीको मुद्दामा हालसम्म के के भयो?
नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (शाहन्शाह सिद्दीकी) बिगत झन्डै १५ महिनादेखि प्रहरीको हिरासत हुँदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागार पठाइएको अवस्था छ । उनको आठ पटक पेशी सरि सकेको छ भने अझै फैसला कुरेर बसिरहेका छन् । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण आफु कारागारमा बस्नु परेको सिद्दिकीको जिकिर छ । उता नेपाल टाइम्सका अर्का साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दिकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ । अरुण राठी र शाहन्शाह सिद्दिकीको मुद्दाको अहिलेसम्मको घटनाक्रम यस प्रकार रहेको छ ।
• २०७९ मंसिर १४ गते घटना घटेको भनिएको मिति।
• २०७९ मंसिर १८ गते जाहेरवाला अरुण राठीले प्रहरीमा शाहन्शाह सिद्दीकी बिरुद्ध जाहेरी : अरुण राठीले प्रहरीमा शाहन्शाह सिद्दिकीले आफुलाई अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको ।
• २०७९ साल मंसिर २९ गते शाहन्शाह सिद्दीकी द्वारा प्रहरीमा आत्मसमर्पण : फेसबुकमा स्टाटस लेखेर अनुसन्धानमा सहयोग गर्नको निम्ति शाहन्शाह सिद्दीकी स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए पश्चात् उनलाई जिल्ला प्रहरी कार्यालयले थुनामा राखेको ।
• २०७९ फागुन १४ गते जाहेरवाला अरुण राठी र उनकी श्रीमती ललिता राठीको अदालतमा बकपत्र : उक्त बकपत्रमा आफ्नो श्रीमान अरुण राठीले २ दिनपछि परिवार सामु घटनाबारे जानकारी गराएपछि मात्र आफुले थाहा पाएको कुरा ललिता राठी द्वारा ब्यक्त । अरुण राठीको भनाइ अनुसार शाहन्शाह सिद्दिकीले चुनावी भिडियो बनाउने बहानामा नेपाल टाइम्सको कार्यालयमा लगेर २०७९ मंसिर १४ गते आफुलाई अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग लगाएको देखिन्छ ।
• २०७९ फागुन १४ गते नेपाल टाइम्सका कर्मचारी हरिहर नेपाल र सामाजिक अभियान्ता बसन्त अधिकारीको बकपत्र: हरिहर नेपालले घटनाको जाहेरी बारे जिल्ला प्रहरी कार्यालय मोरङबाट र बसन्त अधिकारीले घटनाबारे समाचार स्रोतबाट जानकारी पाएको उल्लेख गरेको । घटनास्थलमा दुवै जना उपस्थित नभएकोले दुईजना बीच यथार्थ कुरा के भएको हो भन्ने कुरा यकिन नभएको । लामो समयदेखि शाहन्शाह सिद्दिकीलाइ चिनेकोले सिद्दिकीले यस किसिमको घटना घटाए भन्ने विश्वास नलागेको कुरा बसन्त अधिकारी र हरिहर नेपालले अदालतको बकपत्रमा व्यक्त।
• २०७९ पुस २६ गते सरकारी वकिलसँग सहेन्सा र जयकुमार रामको बयान : चुनाब ताका नेकपा एमालेको तर्फबाट प्रदेश १ को प्रदेश सभाको समानुपातिकको उमेदवार रहेका अरुण राठीले नेपाल टाइम्सले चुनावमा आफु र आफु निकटका उम्मेदवारहरुलाई सहयोग नगरेको कारण हार व्यहोर्नु परेको आरोप लगाएको जवाफमा, "आफ्नो मिडियाले पत्रकारिताको धर्म बिपरित गएर कसैको बिरुद्धमा लेख्ने र कसैलाई प्रोत्साहन नगर्ने" भनेपछि राठीले "या त मिडिया किनिदिने अथवा सिध्याईदिने" धम्कि दिएको शाहन्शाह बताउँछन । चुनावमा राठी लगायत संगठनले अपेक्षित नतिजा ल्याउन नसकेको कारण त्यसको रिस आफु र आफ्नो संस्थासँग पोखेको शाहन्शाह भनाइ रहेको छ ।
शाहन्शाहसंगै पक्डाउ परेका चिखु भाइ,“अजय” भन्ने जय कुमार राम नाम गरेका शाहन्शाहकोड्राइभरले प्रहरी र अदालतमा फरक बयान दिएको देखिन्छ । प्रहरी समक्ष उनले दिएको बयान अनुसार " शाहन्शाह आदेशमा आफुले अरुण राठीको हात र शाहन्शाहले खुट्टा बाँधि सकेपछि आफुलाई शाहन्शाहले अर्को कोठामा पठाएको र पछि शाहन्शाहले बोलाएर अरुण राठीलाई बाँधेको तार खोल्न लगाई अरुण राठी र शाहन्शाह स्कुटरमा चढेर पुन नया कार्यालय तर्फ गएको" बयान दिएका छन् । जबकि अदालतमा वकिल सँगको सोधपुछमा भने “वारदात मितिमा आफुले अब्दुल खताब (शाहन्शाह) को गाडी चलाएको, तथा अरुण राठी र शाहन्शाह सिद्दिकी र स्कुटरमा आएर अफिसमा बसी कुराकानी गरेको, तर आफु अफिस कोठा भित्र नगएकोले भित्र भएको घटना बारे आफुलाई जानकारी नभएको भनि फरक प्रकृतिको बयान दिएको देखिन्छ ।
• २०७९ साल पौष २८ गते शाहन्शाह सिद्दिकीलाइ पुर्पक्षको लागि लागि थुनामा राखन र ड्राइभर जय कुमार रामलाई १ लाख रुपैया धरौटीमा छोड्ने अदालतद्वारा आदेश: शाहन्शाह सिद्दिकीलाइ पुर्पक्षको लागि लागि थुनामा राखन र सोहि दिन चिखु भाइ "अजय" भनिने जय कुमार राम नाम गरेका सहन्शाहका ड्राइभरलाई १ लाख रुपैया धरौटीमा छोड्ने अदालतद्वारा आदेश गरेको । जय कुमार रामसँग धरौटी बुझाउने पैसा नभएकोले शाहन्शाह सिद्दिकीसंगै कारागार चलान । केहि दिनपछि पैसा बुझाए पश्चात जय कुमार राम कारागार मुक्त भएको ।
• हालसम्म राठी र सहन्शाहको मुद्दामा ८ वटा पेसी सरेको देखिन्छ, जसमा अरुण राठीको पक्षले ४ पटक, सरकारी वकिलले २ पटक र सहिन्षा सिद्दिकीको २ पटक पेसी सारेको देखिन्छ । सारिएको पेशीहरुको विवरण यसप्रकार छ ।
• २०८० बैशाख १७ गते: जाहेरवाला अरुण राठीको तर्फबाट पेशी सारिएको
• २०८० साल असार १ गते: सरकारी वकिलले पेशी सारेको
• २०८० साल असार १४ गते: शाहन्शाह सिद्दिकीको तर्फबाट पेशी सारिएको
• २०८० असार १७ गते: सरकारी वकिलले पेशी सारेको
• २०८० साल भाद्र ७ गते: शाहन्शाह सिद्दिकीको तर्फबाट पेशी सारिएको
• २०८० साल भाद्र १७ गते: जाहेरवाला अरुण राठीको तर्फबाट पेशी सारिएको
• २०८० साल भाद्र १३ गते: जाहेरवाला अरुण राठीको तर्फबाट पेशी सारिएको
• २०८० साल असोज २२ गते: जाहेरवाला अरुण राठीको तर्फबाट पेशी सारिएको
•२०८० असोज ९ गते राठीको घाउजाच भाँचिएको बिषयमा पुन बकपत्र गराउन अदालतद्वारा आदेश: २०८० साल मंसिर २३ गते कोशी अस्पतालमा मनोजहाङ्ग लिम्बुले राठीको घाउजाच गरेको रिपोर्टमा करंगका हड्डीहरू भाँचिएको बिषयमा पुन:बकपत्र गराउन अदालतद्वारा आदेश गरेको ।
•२०८० साल कार्तिक २१ गते राठीको घाउजाछ गर्ने मनोजहाङ्ग लिम्बुको करार अवधि समाप्त भएकोले अर्को डाक्टर बोलाउने अदालतद्वारा आदेश ।
•२०८० साल मंसिर ५ गते कोशी अस्पतालका डाक्टर सर्मिस्ठा धौभडेल संग बकपत्र: मनोजहाङ्ग लिम्बुको करार अवधि समाप्त भएकोले अर्को डाक्टर सर्मिस्ठा धौभडेल संग गरिएको बकपत्रमा राठीलाइ लागेको भनिएको चोटपटक निको भइसकेकोले निजलाई अहिले कुनै समस्या नरहेको भनि जानकारी गराएको ।
•२०८० साल मंसिर २७ गते अरुण राठी र निजका छोरा योगेश राठीको नाममा नेपाल टाइम्सको बैंक खाताबाट १४ लाख झिकेको देखिएको हुदा अरुण राठीलाइ प्रतिक्रिया पेश गर्न अदालत द्वारा आदेश: बैंक स्टेटमेन्ट मा अरुण राठीको छोराले श्रावण १६ गते २२ लाख ६० हजार नेपाल टाइम्सको खातामा डिपोजिट गरेको देखिन्छ । नेपाल टाइम्सको खाताबाट अरुण राठीको कर्मचारी ब्रिज मोहन भगतको नाममा २०७९ श्रावण १६ गते ६ लाख, अरुण राठीको नाममा श्रावण १७ गते ७ लाख र योगेश राठीको नाममा श्रावण १८ गते ७ लाख रुपैया डिपोजिट भएको देखिएकोले, अरुण राठीको प्रतिक्रिया पेश गर्न अदालतद्वारा आदेश गरिएको ।
•२०८० साल पौष ४ गते जाहेरवाला अरुण राठीको नाममा नेपाल टाइम्सको खाताबाट ७ लाख जम्मा भएको बिषयमा अदालतमा अरुण राठीद्वारा प्रतिक्रिया पेश गरेको: उक्त अदालती प्रतिक्रियामा अरुण राठीले आफुले रकम नबुझेको भनि प्रतिक्रिया दिएको । सहिन्सा र छोरा योगेश राठी र शाहन्शाह बीच कम्पनीको विज्ञापनको बिषय बारे लेनदेन भइरहने भएकोले आफुलाई छोराको नाममा नेपाल टाइम्सको खाताबाट ७ लाख जम्मा भएको कुरा थाहा नभएको भनि अरुण राठीले प्रतिक्रिया दिएको ।
•२०८० साल पौष १२ गते अरुण राठीको नाममा ७ लाख र उनका छोरा योगेश राठीको नाममा पनि ७ लाख रुपैयाँ नेपाल टाइम्सको खाताबाट झिकिएको देखिएको हुदा, अदालतले बैंकबाट चेकको फोटोकपी झिकाउने आदेश ।
• २०८० साल माघ १५ गते नेपाल टाइम्सको खाताबाट सहन्शाहले ८ लाख झिकेको बिषयमा संस्थाको खाताबाट सहन्शाहले ८ लाख झिकेको देखिँदा नेपाल टाइम्सका कर्मचारी तथा कुमारी बैंकसँग यस बिषयमा अदालतद्वारा जवाफ माग्ने आदेश ।
• २०८० साल माघ २७ गते सरकारी वकिलले नभ्याएको कारण त्यस दिन बकपत्र स्थगित ।
• २०८० साल माघ २८ गते नेपाल टाइम्सका कर्मचारी रञ्जिता पोखरेल र सर्वज्ञा गुरुङको बकपत्र।
• २०८० साल माघ २६ गते सहन्शाहको नाममा डेबिट भएको रकमको जानकारी माग भए अनुसार नेपाल टाइम्सले जिल्ला अदालत मोरंगलाइ सहन्शाहले नेपाल टाइम्सबाट पाउनुपर्ने मासिक पारिश्रमिक बाकी रहेको तलबी रकम भुक्तानी गरेको जानकारी पत्र पठाएको ।
• २०८० माघ २९ गते नेपाल टाइम्सका संचालक मद्धेका एक मुकुल दाहाल र ट्रान्स नेपालका सेक्युरिटी गार्ड भिम प्रसाद कट्टेलको बकपत्र, सोहि दिन घटना घटेको भनिएको नेपाल टाइम्सको पुरानो कार्यालय तल किराना पसल गर्ने मोस्ताकिर मियासँग अदालतमा बकपत्र गरिएको ।
• २०८० साल फाल्गुन १७ गतेको लागि अदालतले अर्को पेशी तोकेको अवस्था छ ।
अन्त्यमा, यदि सहन्शाहले राठीले जाहेरी दिएअनुसार घटना घटाएका हुन् र सबुत प्रमाणले त्यो कुरा प्रमाणित हुन्छ भने उनले कानुन बमोजिम सजायको भागेदार हुनु पर्दछ । तर उनीमाथि लागेको अभियोग उनीले घटाएको पुस्टि हुदैन र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण, पक्षमा बोलिदिने र उभिदिने कोहि नभएकै आधारमा उनि जेलमा सड़ीरहनु न्याय संगत हुदैन । यसले केहि गर्छु भन्ने युवाको भबिष्यलाई अन्धकारमा धकेलीदिनेछ ।
भनिन्छ (Justice Delayed is Justice Denied) दिनमा गरिएको ढिलाई अन्याय हो । यसरी कोहि पनि व्यक्ति अनिर्णयको बन्दी बनि रहनु हुदैन। एक बर्ष निकै लामो समय हुन्छ, बर्ष दिनसम्म फैसलाको आशमा बसिरहनु निकै पीडादायी हुन्छ । त्यसैले सत्य तथ्यको छानबिन गरि छिटो भन्दा छिटो राठी र शाहन्शाहको मुद्दाको फैसला हुन् जरुरी छ । जहासम्म मेरो बुझाइ छ राज्य र यसका संयन्त्रहरुको उत्पति बलियाबाट कमजोरहरुलाई बचाउनको निम्ति स्थापना गरिएको हो । कमजोर भएकै कारण कोहि अन्यायमा पर्नु हुँदैन र पहुँच र शक्ति भएकै भरमा न्याय कसैको पक्षमा हुनुपर्छ भन्ने हुदैन । आशा छ सत्य र न्यायको जित हुनेछ ।