साप्ताहिक हाटमा रुपान्तरण भयो कटहरीको फलफूल तथा तरकारी थोक बजार

साप्ताहिक हाटमा रुपान्तरण भयो कटहरीको फलफूल तथा तरकारी थोक बजार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड लागतमा निर्माण भएको एकिकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट लाग्न थालेको छ । संघीय सरकार कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधिन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रुपान्तरण भएको हो ।

निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको उपयोगिता अनुसार सञ्चालन गर्न नसक्दा कटहरी गाउँपालिकाले बुधबार र शनिबार हाट लगाउन थालेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० जेठ ३ गते प्रदेश सरकारका तत्कालिन कृषि, उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना, महाशाखा प्रमुख पशुपति पोखरेलसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालिएको जानकारी दिनुभयो ।

निर्माण सम्पन्न संरचनाको २०७५ चैत ३ गते उद्घाटन गर्दै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थान्तरण गर्ने योजनासहित निर्माण गरिएको सरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी गाउँपालिका–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भएपनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए । तर, नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालन गर्न दिएको थियो । कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपिँया शेयर लगानी गरेर स्थापना गरेको सहकारी अहिले डुबेको छ ।

पाँच बिघा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासकिन भवन, ३२ वटा थोक तरकारी तथा फलफूल पसल र ३२ वटा खुद्रा पसलका स्टलका संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लष्टर, सार्वजानिक शौचालय, नापतौल मेसिन, लोड–अनलोड क्षेत्र, डिप ट्यूबेल, सीसीटीभी, जेनेरेटर र सोलार समेतको सुविधा छ । यसैगरी गोदाम घर, बैंक घर, सुरक्षाकर्मीका लागि संरचना समेत निर्माण गरिएको थियो ।

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर बिक्री गर्नसक्ने क्षमता रहेको छ ।
अध्यक्ष चौधरीले गाउँपालिका भित्र निर्माण भएको संरचना प्रयोगविहीन भएपछि त्यहाँ हटिया सञ्चालन गर्न थालेको बताउँदै आगामी चैत १५ गते कृषि मेला लगाउने तयारी भईरहेको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा कृषि उत्पादन प्रवद्र्धन मेला आयोजना गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्