गठबन्धनप्रति प्रचण्ड सतर्क, भन्छन् ‘प्रयोग गर्न नखोजियोस्’

गठबन्धनप्रति प्रचण्ड सतर्क, भन्छन् ‘प्रयोग गर्न नखोजियोस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले आफूलाई प्रयोग गर्न खोजे गठबन्धनबाट निस्किन सक्ने बताएका छन् । कांग्रेससँग सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएका उनी नयाँ गठबन्धनप्रति सतर्क देखिएका छन् ।

राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफू मुलुकका श्रमिक जनता, सहिद र राष्ट्रप्रति इमान्दार रहेको दाबी गरे । आफ्नो इमान्दारितालाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला गठबन्धन छाड्ने उनले चेतावनी दिए ।

उनले भने, ‘मेरो नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीहरुले अविश्वसनीय, के हुन्छ भनेर भन्न नै नसक्ने भनेर भन्छन् । तर, म त्यस्तो होइन । म नेपालका श्रमिक जनता, महान सहिदप्रति र नेपाल राष्ट्रप्रति अनुमानित गर्न सक्ने नै छु । उनीहरुप्रति इमान्दार हुने कुरामा निरन्तर कायम छु तर प्रतिक्रियावादीले मलाई उपयोग गर्न खाजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु । त्यसकारण उनीहरुको लागि म विश्वसनीय छैन, हुने पनि छैन । आजको दिन हरेक दृष्टिकोणले नयाँ क्रमभंगको दिन बन्न गएको छ ।’

समुचित र वैज्ञानिक परराष्ट्रनीति अवलम्बन गर्न नसके नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्ने भन्दै उनले सबै गम्भीर हुन आवश्यक भएको भनाइ राखे । उनले भने, ‘नेपालको राजनीतिमा जुन खालका प्रयासहरु छन्, प्रतिगमनकारी भन्छौ हामी प्रतिक्रियावादी, अवसरवादी, विदेशीप्रभुत्ववादी, जे भने पनि ती सबैको दबाब सबैतिर भएको छ । नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ, हामीले समुचित र वैज्ञानिक परराष्ट्रनीति अबलम्बन गर्न सकेनौ र नेपाली जनतासँग एकाकार गर्न सकेनौ भने नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्छ । त्यसकारण हामी सबै गम्भीर हुन आवश्यक छ ।’

कम्पुयनिष्टका आदर्शहरुका कुराले मात्रै सधैं नचल्ने भएकाले देश, काल परिस्थितिअनुसार इमानदार प्रयास आवश्यक रहेको उनले बताए ।
‘हामीले लेलिनको कुरा गर्छौ, माओको कुरा गर्छौ । उनीहरु हिँडेको बाटो सोझो थियो राजमार्ग जस्तो सिधै । अनि मानिस दुईवटा खुट्टाले हिन्नुपर्छ कहिले दायाँ, कहिले बायाँ, बायाँ गयो भने बायाँ बायाँ, दायाँ गयो भने दायाँ दायाँ यस्तो पनि हुन्छ । त्यो माक्र्सवाद हो होइन, गन्तव्यमा पुग्नको लागि दुवै खुट्टाले हिँड्न आवश्यक हुन्छ ।’ उनले भने ।

सत्ता टिकाउन नयाँ समीकरणप्रति ढुक्क देखिएका दाहालले पुरानो गठबन्धनले आफू दबाबमा परेको संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्