रबिन्द्र बराल
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारी टोलका ३५ जना युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाएका एकजना युवा परिवारसहित घर छोडेर भागेका छन् । पैसा उठाएर युवाहरुलाई विदेश पठाउनु पर्ने रंगेली–७ का अब्दुल मिया घरका सरसामानसहित परिवार लिएर बसाँई सरेको खुलेको हो ।
गाउँघरमा वुद्धना भनेर चिनिने मियाले मजदुरी काम गर्ने परिवारका युवाहरुलाई विदेश पठाउने भन्दै पैसा असुलेका थिए । तर, विदेश पठाउनु पर्ने व्यक्ति नै घरका सामान र परिवारसहित सम्पर्कविहीन भएपछि धेरैको बिचल्ली भएको हो ।
पैसा उठाएका बुद्धना एक साता अगाडी घरका सामान टेम्पोमा लोड गरेर परिवारसहित भागेका थिए । उनी घर छोडेर भागेपछि पैसा उठाएर बुझाईसकेका युवाहरुको परिवार चिन्तामा छन् । पैसा बुझाएकामध्ये पंकज सिंहको एकलाख डुबेको छ । अब्दुल फरार भएपछि सिंहकी श्रीमती आरतीको निधन समेत भएको छ । यसैगरी मोहन सिंहको एकलाख ३५ हजार रुपैँया रहेको छ । टोलका गंगा सिंहको १ लाख, मुकेश सिंहको १ लाख, रवि सिंहको १ लाख, दिपेन सिंहको १ लाख घनश्याम सिंहको ५० हजार रुपैँया लिएर अव्दुल फरार भएका छन ।
खेरबारी टोलका युवाहरुले पैसा लिएर फरार भएका उनको खोजीका लागि अपिल गर्दै प्रहरीमा निवेदन दिने भएका छन् । साहुसँग ऋणमा लिएको बुझाएको पैसा भएका कारण धेरैलाई दोहोरो दवाव भोग्नु परेको छ ।