विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा भएको १५ वर्षीया किशोरीको हत्यामा संलग्न एकजनालाई प्रहरी पक्राउ गरेको छ।
पक्राउ परेको व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मामा घरमा बस्दै आएकी किशोरीको हिजो राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोटाङको एँसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन् ।
मोरङ प्रहरीका प्रवक्ता नायव उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको जानकारी दिए ।