विराटनगर । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी–२० क्रिकेटमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेश ट्रफीका लागि कर्णालीलाई ३८ रनले पराजित गको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । सुजन थपलियाले ३८, समिर कार्कीले २०, दिपेश कंडेलले १४ जोडेका थिए । त्यस्तै मिनास थापाले ६, श्रवण यादव १, भुपाल दंगाल १ रनको योगदान गरेका थिए भने फिर्दुस अन्सारीले नटआउट ३ रन जोडेका थिए ।
कर्णालीका अनुज चनाराले २ विकेट लिए । त्यस्तै प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए । १४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको कर्णाली १८ दशमलव २ ओभरमा १०२ रन जोड्दै अलआउट भएको थियो । हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोडे ।
दिनेश अधिकारीले ११, दिवान पुनले १०, कप्तान रविन्द्र शाहीले ९, अर्जुन घर्ती ७, विपीन रावल ६, निश्चल रावल २, प्रकाश जैसी र अर्जुन चनाराले समान १–१ रन लिएका थिए ।