बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापामा जारी छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि बुधबार २–१ गोलअन्तरले जित हासिल गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको ११औं मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोष्टको दिशा दिएका हुन् । खेलको ६१औं मिनेटमा आर्मीले खेल बराबरीमा ल्यायो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औ मिनेटमा वसन्त जिम्बाले गोल थपे । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन जना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।
जितसँगै झापा गोल्डकपको चार पटकको विजेता आर्मी सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । पहिलो पटक सहभागी भएको मछिन्द्र क्वाटरफाइनलबाटै घर फर्किएको छ । पराजयसँगै मछिन्द्र यो सिजनमा उपाधि ह्याट्रिक गर्नबाट बञ्चित भएको छ । मछिन्द्रले हालै सम्पन्न केपी ओली कप र बागमती गोल्डकपको उपाधि हात पारेको थियो । खेलको सातौं मिनेटमा नवयुगले गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । खेल अवधिभर मछिन्द्रले आर्मीमाथि दबाब कायम राखेको थियो । तर, समयमा स्कोर हुन नसक्दा आर्मीसँग पराजय ब्यहोर्नु प¥यो ।
खेलको सुरुवातमै मछिन्द्रले आर्मीमाथि दबाब दिन सुरु गरेको थियो । चौथो मिनेटमा मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर बाहिरियो । पाँचौ मिनेटमा देवेन्द्र तामाङको हेडर बाहिरिँदा खेलमा अग्रसरता लिन मछिन्द्र असफल भयो । २२ औं मिनेटमा अभिषेक गुरुङको पासमा विमलले गरेको कडा प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर गोल हुनबाट बचाएका थिए । ८० औ मिनेटमा गोलरक्षक अगाडि बढेको समयमा आयुस घलानले गरेको प्रहार पोष्टबाट बाहिरियो । खेलको प्लेयर अफ दी म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशीका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी हस्तान्तरण गरे ।
आर्मीका प्रशिक्षक मेघराज केसीले देशका महत्वपूर्ण खेलको सूचीमा झापा गोल्डकप भएकाले आर्मीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल हुन सकेको प्रतिक्रिया दिए । पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले तालमेल मिल्दा जित सम्भव भएको बताए । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि मिडफिल्ड र डिफेन्डरको सानो गल्तीका कारण खेलमा पराजय भएको बताए ।
१० टिम सहभागी झापा गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने छन् भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्डकपमा झापा ११ एफसीले बिहीबार एन्फा मकवानपुरसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।