विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कप ट्रष्ट आफैले गर्ने भएको छ । आगामी चैत्र १५ गतेबाट विराटनगरको सहिद रंगशालामा चैत २४ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापनको काम भईरहेको छ ।
निजी क्षेत्रको नेतृत्वमा हुँदै आएको विराट गोल्ड कप यसपटक विराट गोल्ड कप ट्रष्ट आफैंले आयोजना गर्ने अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिएका हुन् । गोल्डकपको लागी शहिद रंगशालाको व्यवस्थापनदेखी मैदानको तयारीमा जुटिरहेको शाहीले जानकारी दिए । यस पटक दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्न लागिएको ट्रष्टले जनाएको छ । प्रतियोगितामा घरेलु टिम, विभागीय टोली , ए डिभिजन र भारत, बङ्गलादेश सहित भुटानको पनि सहभागिता हुने अध्यक्ष शाहीले जानकारी दिए ।
अबको २० दिनपछि हुन लागेको विराट गोल्ड कप खेल मैदानको तयारी समेत तिब्र बनाईएको छ । मैदानलाई हरियो र व्यावस्थित बनाउनको लागि अहिले दुबो रोपेर पानीले सिंचाई गर्ने काम भईरहेको छ । मैदानमा रिप्लान्टेसन, माटो रिफिलिङ्गसँगै दर्शकहरु बस्ने प्याराफिटहरु मर्मत तथा सम्भारको कामहरु भईरहेको छ । यसका लागि विराटनगर महानगरपालिकाले १० लाख बजेट समेत छुटाएको छ । बुधबार मात्रै कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले ट्रष्टका पदाधिकारीहरुसँग खेल मैदानको अनुगमन गरेका थिए ।
विराट गोल्डकप कोशी प्रदेशको एउटा ऐतिहासिक गोल्ड कप रहेकाले यसलाई भव्य रुपमा सम्पन्न गर्न प्रदेश सरकार सधै सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री कार्कीले ट्रष्टका पदाधिकारीलाई बताएका थिए । मैदान लगायत अन्य भौतिक संरचनाहरुको स्थलगत रुपमा नै अनुगमन तथा निरीक्षणपछि मन्त्री कार्कीले कार्यक्रममा भव्य बनाउनु पर्नेमाजोड दिएका थिए ।
यसपटक ट्रष्ट आफैंले आयोजना गर्दै गर्दा थुप्रै चुनौती पनि थपिएका छन् । ‘यहाँका उद्योगी व्यावसायी तथा कलकारखाना लगायत विराटनगर महानगरपालिका र प्रदेश सरकारले सहयोग गर्ने भनेर आश्वासन आएको अध्यक्ष शाहीले जानकारी दिए ।
ट्रष्टले यसपटक भने पुरस्कार राशी घटाएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष विजेताले २० लाख १५ हजार रुपैयाँ र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए । गतवर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाएको ट्रष्टले जनाएको छ । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२÷०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ ।