विराटनगर । सुनसरीको धरानमा फागुन २६ गतेदेखि सञ्चालन हुने २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आठवटा टिम सहभागी हुने भएका छन् ।
प्रतियोगितामा चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युके एफसी ले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै धरान फुटबल क्लबले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
क्लबका अध्यक्ष प्रताप तामाङले २४ औँ संस्करणलाई विशेष बनाउने प्रयास भइरहेको बताए ।
चैत ३ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष तामाङले बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी, उत्कृष्ट गोलरक्षकलाई २५ हजार, उत्कृष्ट डिफेन्सलाई २५ हजार, उत्कृष्ट मिड फिल्डरलाई २५ हजार, उत्कृष्ट स्ट्राइकरलाई २५ हजार, उत्कृष्ट प्रशिक्षकलाई २५ हजार, सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।