फेरियो विराटनगरमा नहरको मुहार

फेरियो विराटनगरमा नहरको मुहार

विराटनगर । ‘पहाडको छोरो हुँ म गोर्खे मेरो नाम’
पछिल्लो समय शनिबार विराटनगर आसपासको नहरमा यही गीत गाउँदै नहर सरसफाइमा केही युवाहरु जुट्छन् । माघ २० गते शनिबारदेखि नहर सरसफाइ अभियानमा अचेत नागरिकले अभियान थालनी गरेसँगै त्यसैलाई उनीहरुले निरन्तरता दिँदै आएका छन् ।

छैठ पर्वको समय पुजा गर्ने उद्देश्यले मात्रै नहर सरसफाइ गर्ने चलन थियो । पूजा सकिएपछि पहिलेकै अवस्थामा फर्किने नहरको पेरीफेरी अचेत समूहको सरसफाइ अभियानले आजभोलि मुहार फेरिएझैं देखिएको छ ।

घरबाट निस्किएका फोहोरहरुले दुर्गन्धित बनेको नहर सरसफाइपछि सफा र सुन्दर देखिन थालेको छ । त्यसो त यसअघि तत्कालिन प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरको नेतृत्वमा विराटनगर महानगरपालिका, साथै स्थानीय पालिकाको सहयोगमा ‘सिंघिया खोलाको सरसफाइ अभियान, हामी सबैको सान ’ भन्ने नाराको साथ अभियानको सुरुवात भएको थियो । तर, यसले निरन्तरता पाउन सकेन ।

भएको कामले निरन्तरता नपाउँदा पनि यस्तो खालको समस्या देखा परेकाले अचेत समूह नाम दिएर केही युवाहरुले नहर सरसफाइ अभियान थालनी गरेको यस समूहका अभियन्ताहरु बताउछन् । सम्बन्धित निकायलाई खबरदारी गर्न साथै जनसरोकारको विषयलाई उठान गर्न पनि यो समूह लागि परेको बताउने उनीहरुलाई विराटनगर महानगरपालिकासहित विद्यार्थी , स्थानीयबासीहरुले अभियानमा साथ र सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्