राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र आर्मीको जित

राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र आर्मीको जित

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

जितसँगै पुलिस समूह ‘बी’ बाट २ खेलमा एउटामा जित एउटामा पराजित हुँदै २ अंकसाथ तेस्रो स्थानमा उक्लिएको छ ।

गण्डकी आफूले खेलेका तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो ।

गण्डकीका लागि दीनेश बुढा मगरले ४५ बलमा १ छक्का र ५ चौका प्रहार गरी ४६ रन बनाउँदा ईश्वर क्षेत्रीले ३० बलमा २ छक्का र ५ चौका प्रहार गरी ४१ रन तथा दिपक डुम्रेले ३१ बलमा १ छक्का र ३ चौका प्रहार गरी ४० रनको योगदान दिए ।

पुलिसको अविशेक कार्कीले २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दीपक सेरलाले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९.३ ओभरमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।

पुलिसको जितमा प्लेयर अफ द म्याच शंकर रानाले ३० बलमा ३ छक्का र ५ चौका प्रहार गरी नटआउट ५१ रन बनाउँदा अमित श्रेष्ठले २८ रन, रोहन विकले १९ रन र शरद भेषवाकरले १८ रनको योगदान दिए ।

गण्डकीका अमृत गुरुङले २ विकेट लिँदा सन्दिप पराजुलीले पनि २ विकेट तथा चन्द्र पौडेलले १ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । आर्मी लगातार दोस्रो जित निकाल्दै समूह–१ को शीर्ष स्थानमा उक्लिएको छ ।

आर्मीले यसअघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको छ । आर्मीले २ खेलमा २ जित निकाल्दै ४ अंकका साथ पहिलो स्थानमा छ भने ३ मा १ खेलमा जित र २ खेलमा पराजित भएको मधेश २ अंकका साथ चौथो स्थानमा यथावत छ ।

टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो ।

मधेशका पवन सराफले ३९ बलमा ६ छक्का र २ चौका प्रहार गरी ६३ रन बनाउँदा साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए ।

आर्मीका नितेश पटेलले ४ विकेट लिए । पटेलले ४ ओभरमा १९ रन मात्र दिए । त्यस्तै त्रितराज दास र शहाव आलमले २–२ विकेट लिए ।

जवाफमा १ सय ५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६.५ बलमा ३ विकेट गुमाइ लक्ष्य पार गरेको थियो ।

आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गरी अविजित ६० रनको पारी खेले ।

त्यस्तै, सन्तोष कार्कीले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरी ५७ रन र टुल थापाले १९ रनको योगदान दिए । मधेशका रुपेश सिंश, अविशेक तिवारी र पवन सराफले १–१ विकेट लिए ।

सोमबारको पहिलो खेल सुदूरपश्चिम र बागमती तथा दोस्रो खेल घरेलु टोली कोशी र एपिएफबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्