ग्याल्पो ल्होसार मनाएको महिना दिनपछि विदा

ग्याल्पो ल्होसार मनाएको महिना दिनपछि विदा

विराटनगर । शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले फागुन २८ गतेलाई सार्वजानिक विदा दिइएको छ । राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना समेत फागुन २८ मा ल्होसार भन्दै दिएको पर्व भने माघ २७ गते नै मनाईसकिएको छ । शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको जानकारी गराउँदै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ गएका नेपाल शेर्पा संघ जिल्ला कार्य समितिका अध्यक्ष पासाङ रिता शेर्पा, शेर्पा सञ्चार समूहका अध्यक्ष तेञ्जिङ शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष मिङ्मा खाण्डु शेर्पा र नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष मिङ्मा दिकी शेर्पा नेतृत्वको टोलीले आगामी दिनमा यस्तो त्रुटि नगर्न सरकारलाई सचेत गराएका छन् ।

महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रोमा आधार मानी मान्ने मनाउने भएकाले आगामी दिनमा त्यही मितिअनुसार बिदा दिन पनि माग गरिएको छ । पञ्चाङ्ग निर्णायक समितिले आगामी दिनमा यस्ता गम्भीर त्रुटि नगरोस् भन्ने शेर्पा समुदायले माग गरेका छन् ।
गत माघ २५ गते नै नेपाल शेर्पा संघको केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै ग्याल्पो ल्होसार भोटचन्द्र पात्रोअनुसार सुधार गर्न पञ्चाङ्ग निर्णायक समितिलाई अनुरोध गर्दा पनि नभएको जनाएको थियो । विगतमा पनि भोटचन्द्र पात्रोअनुसार सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर सही तिथिमिति राखेर पात्रो निर्माण गर्न अनुरोध गर्दा पनि सुधार हुन नसकेको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्