पुलिसलाई हराउँदै मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

पुलिसलाई हराउँदै मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबलाई हराउँदै एन्फा मोरङ टिम सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज तेस्रो क्वाटर फाइनलमा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै विभागीय टिम पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको हो ।

विजयी टिम मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक–एक गोल गरे ।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफमा पुलिसमाथि दबाब बढाएको मोरङका लागि महेन्द्रले ७०औँ मिनेटमा साइमन लिम्बुले प्रहार गरेको फ्रिकिकलाई हेड मार्फत गोल गरेका थिए ।

८०औँ मिनेटमा पुलिसका सञ्जीव लामाले मोरङका मौसम लिम्बुलाई डिएरियामा लडाएपछि रेफ्री मनिष अधिकारीले पेनाल्टी दिएका थिए । पेनाल्टी अवसरलाई उमेशले सहजै गोलमा परिणत गरे ।

मोरङका लागि खेलको अन्तिम चार मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३–० ले स्तब्ध भएको हो ।

आजको जीतसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाए ।

प्रतियोगिता अन्तर्गत मंलवारको अन्तिम क्वाटर फाइनलमा झापा गोल्डकप विजेता चर्च ब्वाईज क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच खेल हुने आयोजकले जनाएको छ ।

चैत्र ३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्