टी–२० राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र एपिएफ विजयी

टी–२० राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ टिम विजयी भएका छन् ।

बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समूह ‘बी’ बाट ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

वागमती खेलेका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । वागमतीले बाँकी दुई खेल जित हात पारे पनि समूह चरणबाटै बाहिरिने छ । सुदूरपश्चिम सेमिफाइनमा नजिक पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको वागमती निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनमा सीमित भयो । वागमतीका लागि शुभ कंशाकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरी ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।

सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिए ।

जवाफमा १ सय १८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव २ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक वोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । वागमतीका गौतम केसीले ३ विकेट लिँदा विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । पराजयसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ए मा ३ खेलमा १ मा जित र २ मा पराजित कोशी २ अंकका साथ तेस्रो स्थानमा छ । कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ ।

२ खेलमा १ मा जित र १ मापराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो ।

कोशीका विकेट किपर सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरी ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद २–२ विकेट लिए ।

जवाफमा १ सय १८ रनको लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव ५ ओभरमा ६ विकेट गुमाई लक्ष्य पार गरेको थियो । एपिएफको जितमा पूरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । कोशीका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले १ विकेट लिए ।

मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीबीच खेल हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्