विराटनगरमा ‘सुगुप ’ फिल्म प्रिमियर शो, फिल्मको कथा वस्तु दर्शकले मनपराए

विराटनगरमा ‘सुगुप ’ फिल्म प्रिमियर शो, फिल्मको कथा वस्तु दर्शकले मनपराए

विराटनगर । विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सोमबार अन्य दिनको भन्दा दर्शकहरुको बढी भिड देखिन्थ्यो । लिम्बू समुदायको साँस्कृतिक कथा वस्तुमा आधारित चलचित्र ‘सुगुप’ को विशेष शो रहेका कारण दर्शकहरुको भिड अत्याधिक देखिन्थ्यो ।


फागुन २८ गते सोमबारका दिन ग्याल्मो ल्हेसार पर्व भएका कारण पनि स्कुल तथा सरकारी कार्यालयहरु बन्द थिए । सार्वजनिक विदा भएका कारण पनि सुगुप फिल्म हेर्न आउने दर्शकहरुले हल खचखच भरिएको थियो । अधिकास जातिय पोसाकमा सजिएर आएका दर्शकहरुको उपस्थितीले पनि फरक झझल्को प्रदान गरिरहेको थियो । विराटनगरमा बसोबास गर्दै आएका राई , लिम्बु र याक्खा जातिको बाक्लो उपस्थिती रहेको थियो । एक महिना अगाडी नै फिल्म प्रर्दशनी गर्ने जानकारी पाएका विराटनगरका दर्शकले टिकट पहिले नै खरिद गरिसकेका थिए ।


सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा फिल्म सुरु हुनुभन्दा अगाडी अनौपचारिक कार्यक्रम गरेर सुरु गरिएको फिल्ममा हेर्न दर्शकहरु आतुर देखिन्थे ।
विराटनगरमा फिल्म प्रर्दशनीको लागि सहकार्य गर्ने किराँत राई यायोक्खा , किराँत याक्थुङ चुम्लुङ र किराँत याक्खा छुम्मा सस्थालाई फिल्म निर्माण कम्पनीले विशेष प्रमाण पत्र सहित सम्मान गरेको थियो । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत चलचित्र सुगुपलाई यस अघि हङकङमा, काठमाडौं, धरान , पथरीमा प्रिमियर गरिसकेपछि विराटनगरमा ३ वटा संस्थाले मिलेर फिल्मको प्रिमियर शो गरेको हो । सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन्।


हङकङका युवा व्यवसायी, समाजसेवी तथा ग्रेण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुपमा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक सह निर्माता रहेका छन्।


फिल्ममा वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ, त्यसैगरी विराटनगरकी मोडल तथा नव नायिका सुम्निमा खापुङको पनि अभिनय रहेको छ । युवराज राईको छाँयाङकन,बिपिन मल्लको सम्पादन,अशोक राईको संगीत,कमल राईको नृत्य, किशोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ । नेपाल र भारत दुबै देशको विभिन्न ठाउँहरुमा छाँयाङकन भएको सुगुप लिम्बू समुदायको बहुप्रतिक्षीत चलचित्र मानिएको छ ।

चलचित्रबाट गर्भवती महिलाको स्वास्थ्य संवेदनशीलता र पहाडको विकट भौगोलिक परिवेशलाई झल्काउन खोजिएको निर्माताहरुले बताएका छन् । उनीहरुका अनुसार चलचित्रमा लिम्बु समुदायको मौलिकता र गरिब परिवारको आर्थिक/सामाजिक अवस्थालाई पनि विभिन्न माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ । लिम्बु समुदायको संस्कार संस्कृतिको संरक्षण नै चलचित्रको मुख्य सन्देश रहेको निर्देशक लोकेन साँवा लिम्बुले बताउनुभयो ।


लिम्बू जातीमा प्रशव व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित रहेको फिल्म विराटनगरमा प्रदर्शनी भएपछि अधिकास दर्शकले फिल्मलाई यसअघि लिम्बु सस्कारका आधारित जारी फिल्म सँग जोडेर हेरेका थिए । फिल्मको कथा वस्तु गाउँले परिवेशसँग जोडेर बनाइएको कारण पनि धेरै दर्शकहरु फिल्ममा नै आफुलाई डुवेर हेरेको प्रतिक्रिया दिए ।

फिल्म हेर्न युवा पुस्तादेखी बृद्धबृद्धाको समेत बाक्लो उपस्थिती थियो । त्योसँगै विराटनगरमा भएको प्रिमियर शोमा फिल्म निर्देशक लोकेन साँवा खापुङ, निर्माता रविन कुमार नाल्बो लिम्बु , पटकथाकार देवेन्द्र खापुङ, नायिकाद्धय बबिता नेयोङ, सुम्निा खापुङ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्