सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणका लागि प्रदेश तहबाट पनि लोककल्याणकारी विज्ञापन वितरण गर्नुपर्ने माग गरेको छ ।

कोशी प्रदेश सरकारलाई आज मागपत्र बुझाउँदै महासंघले विभिन्न माग प्रस्तुत गरेको छ ।

महासंघ शाखाका कार्यबाहक अध्यक्ष मोहन भट्टराई नेतृत्वको टोलीले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर मागपत्र बुझाएको हो।

महासंघले प्रदेश र स्थानीय सरकारका सूचना तथ विज्ञापन संघीयताको मर्मअनुसार स्थानीय सञ्चार माध्यमले नै प्राप्त गर्ने नीति र कानून निर्माण गरिनुपर्ने माग गरेको छ ।

यसैगरी, विज्ञापनको क्षेत्रमा सरकारले गरिरहेको खर्चको ठूलो हिस्सा बिचौलियाको हातमा गइरहेकोले सञ्चार माध्यमलाई सिधै समानुपातिक रुपमा विज्ञापन प्रदान गर्ने व्यवस्था गरिनुपर्ने, सञ्चार माध्यमलाई काठमाडौंबाट प्रकाशित भएपछि राष्ट्रिय हुने र काठमाडौं बाहिरका राष्ट्रिय नहुने भनी गरिने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने माग पनि महासंघको छ।

प्रदेश तहबाट सिंगो सञ्चार क्षेत्रको विकास र प्रबर्द्धनका लागि आवश्यक कानुनी र नीतिगत प्रबन्ध गरिनुपर्ने र प्रदेश सरकारले यसअघि पत्रकार महासंघ शाखा कार्यालयहरुलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिनुपर्ने माग पनि शाखाले गरेको छ ।

पछिल्लो समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोले सरकारको सहयोग आवश्यक रहेको महासंघका कार्यबाहक अध्यक्ष भट्टराईले बताए । सञ्चार संस्थाहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवीहरू कामबाट धमाधम निकालिने अवस्था रहेको भन्दै उनले त्यसले सरकारी र सार्वजनिक निकायमा सञ्चारकर्मीको निगरानी कमजोर बनेको मागपत्रमा उल्लेख छ ।

मागपत्र बुझ्दै कोशी प्रदेश सरकार प्रवक्तासमेत रहेका मन्त्री राईले पत्रकार महासंघले उठाएको मागहरु आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

‘आगामी आर्थिक वर्षको बजेट बनाउनुभन्दा अगाडि ठिक समयमा महासंघले सरकारको ध्यानाकर्षण गराएको छ’ उनले भने, ‘तपाईहरुले उठाउनुभएको मागलाई प्रदेश सरकारले ध्यानमा राखेर बजेट निर्माण गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्