राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र त्रिभुवन आर्मी विजयी

राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले बिहिबार वागमतीविरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु पर्ने हुन्छ ।

समूह ‘बी’ को अंक तालिकामा पुलिसले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी ४ खेलमा ३ मा विजय र १ मा पराजित हुँदै ६ अंकका साथ शीर्ष स्थानमा छ भने सुदूरपश्चिमले ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ दोस्रो स्थानमा छ ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरी ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गदै २९ रन र आकाश त्रिपाटीले ३४ रनको योगदान दिए । पुलिसका कप्तान मञ्जित श्रेष्ठले २ विकेट लिँदा अविशेक कार्कीले पनि २ विकेट लिए ।

जवाफमा १ सय ५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ ओभरमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो । पुलिसकोे जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरि ८० रनमा अविजित रहे भने अमित श्रेष्ठले ४९ रन बनाएर आउट भए । लुम्बिनीका देव खनालले १ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले अर्को विभागीय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ । हारपछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ ।

आर्मी चारवटै खेल जितेर ८ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ भने एपिएफ ३ खेलमा २ मा पराजित र १ खेलमा जित हात पार्दै २ अंकका साथ पुछारमा छ ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ ओभरमा सवै विकेट गुमाई १ सय ३९ रनको स्कोर बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरी ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, पूरन विकले २३ रनको योगदान दिए । आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तीर्थराज दासले २ विकेट लिए ।

जवाफमा १ सय ४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमद ३९ बलमा २ छक्का र ३ चौका प्रहार गरी अविजित ४६ रनको पारी खेले भने सन्दिप रजालीले २६ रन बनाउँदा रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए । एपिएफका भुवन कार्कीले २ विकेट लिँदा यज्ञमान कुमालले पनि २ विकेट लिए ।

बिहिबारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र वागमतीबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्