मोरङमा अन्तरदेशीय ठगी गिरोह : पैसा दिएर नागरिकता र फोटो संकलन गर्ने तीनजना पक्राउ

मोरङमा अन्तरदेशीय ठगी गिरोह : पैसा दिएर नागरिकता र फोटो संकलन गर्ने तीनजना पक्राउ

विराटनगर । मोरङमा अन्तरदेशीय संगठित ठगी गिरोहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा परोपकारी संस्था डब्लु बि.एस.सी. कम्पनीको नाममा सर्वसाधारणलाई एक हजार र पन्ध्रसय रुपैँयाका दरले पैसा दिदैं नागरिकताको फोटोकपी र फोटो संकलन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

व्यक्तिगत पहिचान खुल्ने आधिकारिक कागजपत्र लिने र त्यसको दुरुपयोग गर्ने उद्देश्य देखिएको मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् । उनका अनुसार अहिले अनलाइन ठगी र बैंकमा रहेका व्यक्तिका खाताहरु ह्याक गर्ने गिरोह सक्रिय रहेका बेला उनीहरुको गतिविधिले थप शंका जन्माएको छ ।
प्रहरीले फागुन २८ गते पक्राउ परेकामध्ये दुईजना बंगलादेशी नागरिक रहेका छन् । एकजना नेपाली हुन् । बंगलादेश पल्लाबी ढाका बस्ने वर्ष ४९ का महमद महबुर हुसेन र बंगलादेश सितागन्ज बस्ने ३७ वर्षीय महमद तानविर हुसेन छन् । त्यस बाहेक उनीहरुसँग काठमाण्डौं नयाँबजार बस्ने २३ वर्षीया सुनिता खत्री समेत थिइन् ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार उनीहरुमध्ये बंगलादेशी नागरिक महमद तानबिर हुसेन नामबाट बंगलादेशमा राष्ट्रिय परिपचपत्र लिएका उनले रौतहतबाट तानबिर मियाँ दर्जीको नामबाट नागरिकता बनाएको देखिएको छ । त्यसका आधारमा उनले नेपाली राहदानी समेत बनाएका छन् ।
बंगलादेशी नागरिक काठमाण्डौंमा गार्मेन्टमा काम गर्न आएर संगठित रुपमा ठगीमा सक्रिय हुने योजना बनाएको देखिन्छ, प्रहरी नायव उपरीक्षक दाहालले भने–त्यस क्रममा नेपाली नागरिक खत्रीसँगको सम्पर्कमा पुगेका छन् । प्रहरीले यसको संगठित गिरोह देशैभरी हुनसक्ने संभावना रहेको आशंका गरेको छ ।

संगठित रुपमा रहेका उनीहरुले व्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र र फोटा लिएपछि ईसेवा, खल्ती लगायतका डिजिटल वालेटको खाता खोलेर ठगी गर्ने उद्देश्य प्रेरित देखिएको छ । वालेटहरुको खाता खोलेपछि त्यसमा पैसा पठाउने र झिक्ने गर्दछन् । अनलाइन ठगी गर्ने अन्तरदेशीय गिरोहका संगठित समूहमा संलग्नहरु पक्राउ गरेपछि देशैभरी भईरहेको अपराध अनुसन्धानमा सहज हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

परोपकारी संस्थाको रुपमा आर्थिक सहयोग गरे वापत नागरिकताको फोटोकपी र फोटो मागेपछि उनीहरुले बैंक एकाउन्ट खोल्ने, एटीएम झिक्ने र अन्य एकाउन्ट ह्याक गरेर पैसा ट्रान्सफर गर्ने अनि झिक्ने आशय देखिएको हो ।
प्रहरीले उनीहरुको साथबाट एनसेलका १५ थान सिमकार्ड, सुनिता खत्री र तानबिर मिया दर्जीको नाममा रहेको राहदानी, नेपाली नगद ५ हजार १५० रुपैँया, एटिएम कार्ड, विभिन्न कम्पनीका ४ थान मोवाइल बरामद गरेको छ । उनीहरु विरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले रौतहटबाट नागरिकता लिएका तानबिरसँग जोडिएका व्यक्तिको समेत खोजी सुरु गरेको छ ।

मोरङ प्रहरीले कोहि पनि अपरिचित व्यक्तिले आफ्नो नागरिकता, फोटो माग्ने गरेको भए तत्काल खबर गर्न समेत आग्रह गरेको छ । यस्ता व्यक्तिगत पहिचान खुल्ने आधिकारिक कागजात कसैलाई नदिन र कुनैपनि वहाना बनाएमा तत्काल नजिकको प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्