विराटनगर । विराटनगर–१५ स्थित हनुमान मन्दिरका घण्टी चोरी भएका छन् । कोशी राजमार्गबाट आईसिपी जाने सडक (मलाया रोड)मा रहेको मन्दिरका चारवटा घण्टी चोरी भएका हुन् । बिहिबार साँझ पुजाआजा सकाएर ताला लगाइएको मन्दिर राती चोरी भएको सेवक दिपक चौधरीले बताए । मन्दिरबाट चोरी भएका चारमध्ये एउटा घण्टी २० केजी तौलको रहेको उनको दावी छ ।
मन्दिरको घण्टी चोरी भएको घटनाको विषयमा इलाका प्रहरी रानीले अनुसन्धान सुरु गरिसकेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दिप बेलवासेका अनुसार ताला फोडेर घण्टीहरु चोरी गरिएको हो ।
मन्दिरमा एउटा ठूलो र तीनथान साना घण्टी रहेका थिए । तीसवर्ष पुरानो मन्दिरबाट घण्टी हराएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीयकै सक्रियतामा स्थापना भएको हनुमान मन्दिर संरक्षण समिति भने छैन । सेवक चौधरीका अनुसार मन्दिरको रेखदेख स्थानीयकै पहलमा भईरहेको थियो । तीनवटा आरती थाल, कलश, हात घण्टी, टिका दानी समेत चोरी भएको छ ।