कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

विराटनगर । कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीले १२ दशमलव २ बल फालेर एक विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।

जितका लागि ३ रन आवश्यक हुँदा इमरान शेखको चौकाको मद्दतले आर्मीले ११२ रन बनाउँदै प्रतियोगिता जितेको हो ।

आर्मीका त्रितराज दासले ३३ बलमा २ छक्का र ५ चौकासहित अर्ध शतक बनाए भने इमरान शेखले दुई छक्कासहित ३८ को योगदान दिए । आर्मीका सन्तोष कार्की दिनेश अधिकारीको बलमा क्याच आउट भएका थिए ।

कर्णाली प्रदेश टिमका विपिन रावलले सर्वाधिक २७ रन जोडे । कप्तान रविन्द्र शाही र मनिष थापाले २१-२१ रनको योगदान गरे भने दिनेश अधिकारीले १२ रन बनाए ।

यस्तै, दिपेन्द्र रावत ६, अर्जुन घर्ती ४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १-१ रनमात्रै बनाए । दिवान पुनले नटआउट ५ रन खेलेका थिए ।

आर्मीका त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २-२ विकेट लिएका थिए । पवन कार्कीले १ विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गरेका छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा चैत २२ गते सुरु भएको प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्