विराटनगर महानगरको रोजगार मेला सम्पन्न

विराटनगर महानगरको रोजगार मेला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए ।

आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको छ । सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताउनुभयो । महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाउनुभयो । “महानगर रोजगार मेला भव्य रुपमा सम्पन्न भएको छ । यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु,” मेयर कोइरालाले भन्नुभयो, “भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला पनि प्राप्त भएको छ ।”

कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताउनुभयो । हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले मात्रैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गर्नुभयो । रेमिट्यान्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दुरगामी असर पारिरहेको उहाँको भनाइ थियो । खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई-मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै गएको मेयर कोइरालाले बताउनुभयो । उहाँले महानगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए अब रोजगारी प्राप्त गर्ने अवस्था नरहेको मेयर कोइरालाले बताउनुभयो । विराटनगरका सामुदायिक विद्यालय र महानगरले सञ्चालन गरेको बहुप्राविधिक विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थीले कम्प्युटर इन्जिनिरिङ, सिभिल जियो मेट्रिक, आर्टिकेटलगायतका विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गर्नुभयो ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई जोड्न सफल भएको उहाँको भनाइ थियो । समापन समारोहमा नेपाल तालिम तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले रोजगार मेला सफल भएको बताउनुभयो । कार्यक्रममा मेला आयोजना गर्न सहयोग गर्ने संघसंस्था, कर्मचारी, स्टललगायतलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्