विराटनगर । विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप आगामी चैत्र १५ गतेबाट सुरु हुँदैछ।
विराट गोल्डकप ट्रष्टले मंगलबार फुटबल आयोजना हुने मैदानमा पत्रकार सम्मेलन गरी चैत्र १५ गतेदेखी २४ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।
विगतमा ट्रष्टले बाहिरका व्यक्तिलाई संयोजक तोकेर प्रतियोगिता गर्दै आएको थियो । तर यसपटक भने विराट गोल्डकप ट्रष्ट आफैँले गर्दैछ।
आयोजकले यसपटक फुटबलको पुरस्कार राशि भने घटाएको छ । गत बर्षको भन्दा यसपटक विजेता र उपविजेताले पुरस्कार वापत पाउनुपर्ने रकम झन्डै आधा घटाएको छ ।
गतवर्ष पुरस्कार वापत विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो।
यसवर्ष भने विजेतालाई ११ लाख रुपैयाँ र उपविजेतालाई ५ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ । त्यसबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँका दरले प्रदान गरिने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साथै प्रत्येक दिन उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिने छ । भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने अध्यक्ष शाहीले बताउनुभयो ।
आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेका कारण सहयोग जुटाउन समस्या भएर पुरस्कार राशि घटाउनु परेको शाहीले बताउनुभयो ।
यसपटक भारतको २, भुटानको १ गरेर ३ वटा विदेशी र विभागीयसहित नेपालका ७ गरेर प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा गोल्डकपको लागि महानगरले आर्थिक सहयोग गर्ने समेत जनाइएको छ ।
यसवर्षको प्रतियोगिता विराटनगरको सहिद रंगशालामा ‘हाम्रो सान, विराटनगरको पहिचान’ विराट गोल्डकप भन्ने मूल नाराका साथ चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुदैछ ।