विराटनगर वितरण केन्द्रद्वारा महसुल नतिर्ने दुई हजार ७२७ ग्राहकको लाइन बिच्छेद

विराटनगर वितरण केन्द्रद्वारा महसुल नतिर्ने दुई हजार ७२७ ग्राहकको लाइन बिच्छेद

विराटनगर। नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा महसुल नतिर्ने सेवा क्षेत्र भित्रका दुई हजार ७२७ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुनसम्म) विराटनगर वितरण केन्द्रले आफ्नो सेवा क्षेत्र भित्र उक्त सङ्ख्याका ग्राहकको लाइन काटिएको हो ।

लाइन काटेर चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा ५ करोड २३ लाख ३८ हजार ५०४ रुपैयाँ ९६ पैसा बक्यौता असुल गरिएको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रका ईन्जिनियर सरोज कुमारले बताए। लाइन काटिएका दुई हजार ७ सय २७ जना ग्राहकबाट १२ करोड ८१ लाख ५६ हजार ६ सय २६ रुपैयाँ ५१ पैसा महसुल बक्यौता उठाउनुपर्ने थियो।

लाइन काटेपछि रु ५ करोड २३ लाख ३८ हजार ५ सय ४ रुपैयाँ ९६ पैसा उठाई दुई हजार १ सय ६० जना ग्राहकको पुनस्लाइन जडान गरिएको विराटनगर वितरण केन्द्रले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तर्गत विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी, ग्रामथान, जहदा गाउँपालिका पर्छन्। जसमा हाल ८४ हजार २ सय जना ग्राहक रहेका छन् ।

विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६ औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औँ दिनदेखि ४० औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था रहेको छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्ध रूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुल उपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्