विराटनगरको रानी नाकामा पुनः कडाई

विराटनगरको रानी नाकामा पुनः कडाई

इन्दु साह
विराटनगर । खुल्ला सीमाबाट हुने चोरी पैठारी र निकासीमा कडाई गर्ने सरकारी तयारी अनुसार विराटनगर भन्सार नाका रानीमा सुरक्षा संयन्त्र चुस्त बनाइएको छ । संघीय सरकारले चोरी पैठारीमा कडाई गर्ने नीति लिएसँगै त्यसलाई थप समन्वय गर्न प्रदेश सरकारले समेत सुरक्षा निकायसँग बिफ्रिङ लिने काम गरिरहेको छ । त्यसै अनुरुप विराटनगर भन्सारमा गत आइतबारदेखि जोगबनी पुगेर निस्फिक्री सामान ल्याउनेहरुमाथि कडाई गर्न थालिएको हो ।

विराटनगर भन्सारको रानी नाकामा भन्सार प्रशासन, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सामान लिएर आउनेहरुमाथि कडाई गरिरहेका छन् । भन्सार कार्यालयका सुचना अधिकारी परशुराम दाहालका अनुसार चोरी पैठारी तथा चोरी निकासीमा कडाईसँगै भन्सार नबुझाईकन घरायसी प्रयोजनको सामाग्री समेत ल्याउन नदिने लक्ष्य राखिएको बताएका छन् । दाहालका अनुसार अहिले रात्रीकालिन चेकजाँच समेत भन्सार गस्ती टोलिले गरिरहेको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समशेर राईले समेत सीमाबाट हुने गतिविधिमा सुरक्षा संयन्त्रसँग बुझिरहेका छन् । उनले प्रदेश राजधानी विराटनगरको सुरक्षा, राजधानी भएको मोरङ जिल्ला हुने चोरी पैठारी र निकासीको अवस्था, वैधानिक आयातमा हुनसक्ने भन्सार छली जस्ता कार्यहरुको सम्बन्धमा सुक्ष्म अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिने काम गरिरहेका छन् ।

भन्सार क्षेत्रमा थप कडाई गरिएपछि अपाङ्गता भएका व्यक्तिहरुले भने विरोध जनाउँदै आएका छन् । उनीहरुले जोगबनीबाट सामान ल्याएर विराटनगरमा बिक्री गरेवापत हुने नाफाबाट जीवन गुजार्ने बाध्यतामाथि अंकुश नलगाउन आग्रह गरेका छन् । यदि सीमामा कडाई गरिन्छ भने रोजगारी दिनुपर्ने उनीहरुको माग छ ।

विराटनगर–१४ का ३४ वर्षीय सन्जय दर्नालले जोगबनीबाट चकलेट, चीन, तेल ल्याएर विराटनगरका किराना पसलमा बिक्री गरेर जीवन चलाउने गरिएको बताए । उनीसहित १५ जना अपाङ्गता भएका व्यक्तिहरुले जोगबनीबाट सामान ल्याएर दैनिक जसो विराटनगरका पसलमा बिक्री गर्ने गरेको भन्दै त्यसमा कडाई नगर्न आग्रहसहित आन्दोलन गर्ने चेनावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्