विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ मनाउने भएको छ ।
यही चैत्र १३ गते मंगलबार ‘वल्र्ड पर्पल डे’ लाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ ।
‘वल्र्ड पर्पल डे’ मा सचेतनामूलकसँगै हस्पिटलले प्रदान गर्ने उपचारमा पनि सहुलियत समेत दिने भएको हो । गत शुक्रबार ‘वल्र्ड पर्पल डे’को अवसरमा पारेर छारेरोग सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । १३ चैतमा सचेतनामूलक प्रभातफेरी आयोजना गरिने भएको हस्पिटलका आउटरिच विभागका भारत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहान साढे ७ बजे न्यूरो हस्पिटलबाट सुरू हुने प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरी लर्ड वुद्ध कलेजमा गएर सम्पन्न हुनेछ । यसैगरी, ११ देखि १६ चैतसम्म ओपीडी सेवा पनि निःशुल्क हुनेछ । ओपीडिमा चिकित्सकले जाँच गरेपछि ल्याब परीक्षणमा पनि छुट दिएको हस्पिटलले जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ । प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्याकहरुले देखाएको छ ।
हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजारभन्दा बढी छारेरोगका बिरामीको सफल उपचार गरेको छ जनाएको छ । अहिले पनि करिब ३ हजार बिरामी नियमित उपचारको क्रममा रहेका छन् । न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले जानकारी दिए ।