इलाम निर्वाचन क्षेत्र–२ : उपनिर्वाचनमा जोगिएला त एमालेको विरासत ?

इलाम निर्वाचन क्षेत्र–२ : उपनिर्वाचनमा जोगिएला त एमालेको विरासत ?

विराटनगर । यतिबेला इलामको निर्वाचन क्षेत्र– २ मा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचनको मिति तोकेसँगै नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । त्यसो त उम्मेदवार बन्नका लागि नेताहरुको ‘लर्को’ पनि उत्तिकै लागेको छ ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गत भदौ २५ गते निधन भएको थियो । त्यसैले इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रबाट स्व. नेम्वाङले निर्वाचनमा हारेको कुनै रेकर्ड छैन । नेम्वाङको निधनपछि भने इतिहासमा नयाँ नाम राख्ने दौडमा विभिन्न दलका नेता एवम् स्वतन्त्र युवाहरु समेत लागिपरेका छन् ।

शहर केन्द्रिकृत नेताहरु गाँउ पसेका छन् । भेटघाट, छलफललाई तिब्रता दिइरहेका छन् । , नेकपा एमालेले पनि आफ्नो विरासत जोगाउन यतिबेला सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उभ्याएको छ । गत निर्वाचनको प्रतिस्प्रर्धी नेपाली काँग्रेसले पनि उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारीस गरेको छ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जिल्लाबाट आएका सबै आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताएका छन् । आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका हुन् । डम्बरबहादुर खड्का यसअघि प्रतिनिधिसभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका हुन् । खड्कालाई नेम्वाङले १ सय १४ मतको अन्तरले पराजित गरेका थिए । अहिले नेम्वाङको निधनपछि चुनावी प्रतिस्पर्धामा उत्रिएका सुहाङले बुवाको विरासत थाम्न सक्ला ? भन्ने चर्चाको विषय बनेको छ ।

किनभने फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर एकवर्ष देखि सडक आन्दोलनमा छन् । पहिचानको मुद्दा लिएर मैदानमा उत्रिएको पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन् । यस्तै लामो समय पत्रकारिता पेसामा आवद्ध रहेको मिलन लिम्बू समेत सुहाङलाई चुनौती दिँदै प्रतिस्पर्धामा उत्रिएका छन् । पहिचानको आन्दोलनको ‘सेन्टिमेन्ट’ लाई बुझेर इलामेली जनताले मत दिनेमा पहिचानपक्षधरका नेताहरु ढुक्क छन् । यता, युवा त्यसमा पनि माङ्सेबुङको माटोसँग जन्मको साइनो जोडिएको मिलनले पनि यो निर्वाचनमा मत पाउनेमा ढुक्क छन् ।

उपनिर्वाचनलाई आन्दोलनकौ रुपमा उपयोग गर्ने गरी थेगिमलाई साझा उम्मेवार बनाउने निर्णय गरेको पहिचानपक्षधरले यो निर्णयलाई जनताले सकारात्मक लिएको उनीहरुको दाबी छ । त्यसो त घरदैलो कार्यक्रममा व्यस्त रहेको थेगिमले पनि इलामको जनताले यो निर्णय र आन्दोलनका विषयलाई सकारात्मक लिएको बताउछन् ।

स्वतन्त्र उम्मेदवार रहेको मिलन लिम्बू सम्भावना जिरोबाट नै सुरु हुने बताउछन् । क्रमैसँग सयमा पुग्ने जोड रहेको बताउने उनी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । यता, उम्मेदवार मध्येमा बलियो सम्भावना बोकेको सुहाङ पनि घरदैलो भेटघाटमा व्यस्त छन् ।
इलाम क्षेत्र– २ मा पार्टी संगठन बलियो भएकाले पनि जित सुहाङकै हुनेमा ढुक्क रहेको एमाले नेताहरु दाबी गर्छन् ।

त्यसो त इलामबाट निर्वाचित भएपछि विकास र समृद्धिको नारासहित संसदीय यात्रा तय गरेको नेम्वाङले कुनै ठूलो प्रगति भने आफ्नो निर्वाचन क्षेत्रमा गर्न नकसेको गुनासो छ । त्यस क्षेत्रको विकास , कोशी नाम सच्याउनुपर्ने मागसहितको पहिचानपक्षधरको असन्तुष्टि एमालेका लागि चुनौतीको पहाड बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्