इलामको सन्दकपुरको ‘रेडपाण्डा जोन’मा विश्वका पर्यटक

इलामको सन्दकपुरको ‘रेडपाण्डा जोन’मा विश्वका पर्यटक

सुजन तिमल्सिना/नेपाल न्यूज बैंक
इलाम । इलामको सन्दकपुर गाउँपालिका रहेका २६ सामुदायिक वन क्षेत्रलाई आफ्नो वासस्थान बनाएको विश्वकै दुर्लभ र आकर्षक बन्यजन्तु रेडपाण्डा पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ ।

वन्यजन्तु र चराहरुको दृश्यावलोकनमा रमाउन विश्वका विभिन्न देशबाट पर्यटकहरु यहाँ आइरहेका छन् । सन्दकपूरको आहालभञ्ज्याङदेखि अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो । उक्त क्षेत्रमा हिजोआज पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ । फोटोग्राफीमा रमाउनेहरुको संख्या उत्तिकै छ। समुद्र सतहबाट दुई हजार मिटरमाथिको क्षेत्र रेडपाण्डाको चरन क्षेत्र भएकाले सन्दकपुर गाउँपालिका भित्रका उच्च पहाडी भूभागमा रेडपाण्डा हेर्न आउने पर्यटकहरुको संख्या बढेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।
रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिका–५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, टप्पु, अधिकारीबास वन क्षेत्रमा पर्यटकहरु प्रकृतिसँग रमाउँदै घुमफिर गरिरहेको देख्न सकिन्छ ।
विश्वमा लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डाको अवलोकनकै लागि देश विदेशका पर्यटकहरु सन्दकपुर गाउँपालिका भित्रका जंगलमा घुम्ने गरेका छन् । नेपाल, भारत र युरोपसम्मका पर्यटकहरु रेडपाण्डाको सौन्दर्यमा लोभिएसँगै ‘रेडपाण्डा पर्यटन’ सन्दकपुर गाउँपालिकाको ब्राण्ड नै बनेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए ।
आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डा पाइने यहाँको वनमा पर्यटक, वन्यजन्तुविज्ञ, चराविज्ञ र प्रकृतिप्रेमी पुग्नेक्रम बढेको रेडपाण्डा नेटवर्कका धनबहादुर खाम्दाकले बताए । रेडपाण्डालाई स्थानीय भाषामा पूँडेकुदो र हाबे्र भनिन्छ ।
घाँस दाउरा गर्दा भेटिने रेडपाण्डाको महत्व बुझेसँगै स्थानीय व्यक्तिहरु स्वयम रेडपाण्डाको संरक्षणमा जुटेका छन् । रेडपाण्डा पर्यटनले लेकाली बस्तीको जीविकोपार्जनको आधारसँगै पर्यावरणीय सन्तुलनमा समेत टेवा पु¥याएको केचना कंचनजंघामा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।

हेर्दै आकर्षक देखिने र लजालु स्वभावको रेडपाण्डा सोझो, हलुका रातो, सेतो र कालो रंगको हुन्छ । रुखको काप र खबटामा बस्ने रेडपाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो । पर्यटकलाई रेडपाण्डा देखाउन रेडपाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाइन्छ । रेडपाण्डा ९३ देखि एकसय १० सेन्टीमिटर हुन्छ । तीनदेखि ६ केजीसम्मको तौल हुने पाण्डा नेपाल भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । दुर्लभ र संकटापन्न सूचीमा सुचिकृत रेडपाण्डा नेपालका २३ जिल्लामा पाइने गरेपनि धेरै पर्यटक तान्नेमा इलामको सन्दकपुर गाउँपालिका हो ।
सन्दकपुर–५ जमुनाको चोयाटार, हाँगेथाम, हिले, ४ नम्बर वडाको माबुथाम र पद्मसंभव सामुदायिक वनमा रेडपाण्डा पर्यटन प्रवद्र्धन भइरहेको छ । विश्वमा १० हजारको संख्यामा रहेका रेडपाण्डा सन्दकपुर गाउँपालिका क्षेत्र आसपास २ सय ५० को संख्यामा रहेको अध्ययनमा उल्लेख छ ।
नेपाल, भारत र तेस्रो मुलुकका पर्यटक रेडपाण्डाको दृश्य हेर्न मात्रै पनि आउने गरेका छन् । रेडपाण्डासँगै लोपउन्मुख सूचीमै रहेको गिद्धको बासस्थान पनि सन्दकपुरका वन क्षेत्रमा सजिलै अध्ययन गर्न सकिन्छ । लोपउन्मुख वन्यन्तु र चराहरु सजिलै देखिने भएपछि लेकाली बस्तीमा होमस्टे व्यवसाय फस्टाएको सन्दकपुर ३ का अध्यक्ष लिलबहादुर बुर्जाले बताए ।
रेडपाण्डासँगै वनमा पाइने सयौँ प्रजातीको चराहरु, वनैभरी फुल्ने चाँप, लालिगुराँसले पर्यटक अझै लोभिने गरेका छन् । छिनछिनमा बदलिरहने मौसम र हिउँदको हिउँ र वर्षातको झरीमा पर्यटक रमाउने गरेका छन् ।

समूदायमा आधारित रेडपाण्डा संरक्षणका काम भएको चोयाटार पुग्न इलाम सदरमुकाम बिब्ल्याँटे, सुम्बेक जुमना, इङ्ला हुँदै ३० किलोमिटर यात्रा गर्नुपर्छ । सूर्योदय नगरपालिकाको फिक्कल बजार माईजोगमाई गाउँपालिकाको नयाँबजारबाट आहाल भञ्ज्याङ्ग हुँदै पनि चोयाटार पुगिन्छ । सन्दकपुर गाउँपालिकाको दोबाटे पुग्न इलाम बजार सुलुबुङ्ग, माबुथाम, हुँदै २८ किलोमिटर यात्रा गर्नुपर्छ ।
रेडपाण्डाको अध्ययनका लागि सन्दकपुर गाउँपालिका भित्रका १० वटा रेडपाण्डामा रेडपाण्डा नेटवर्क र वन मन्त्रालयबाट रेडियोकलर जडान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्