विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएको रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसीले अन्तिम आठको स्थान सुरक्षीत गरेको हो ।

जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे ।
पहिलो हाफको ३६ औ मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दामा गोलमा परिणत भयो । आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ५० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।
पहिलो हाफमा दुई गोल खाएपछि दवाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरन बाध्य भयो ।
खेलको ७ औँ मिनटेमा पुलिसका सन्जिव लामाको फ्रि किक प्रहार बाहिरयो । १७ औ मिनेटमा उज्जल राईको डिबक्स भित्रबाट सेकेण्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१ औं मिनेटमा पुलिसका प्रविण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बाहिरियो । ३७ औं मिनेटमा पुलिसको सिसिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा पर्न सकेन ।
५० औं मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरु भएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘केटाहरुले राम्रै प्रर्दशन गरेका थिए । तर, पनि नतिजा आफ्नो पक्षमा आउन सकेन् । त्यसमा माथि दुःखी छैनौं ।’ ए डिभिजन लिगको लागि नयाँ खेलाडीहरु तयारी रहेको उनले बताए । त्यसपछि सिमरा गोल्डकप र कपिलबस्तुको गोल्डपको तयारीमा लाग्ने उनले बताए ।

यता जितपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए । ‘पहिलो हाफमा दुई गोल गरेपछि दबाव कायम गर्न सफल भयौ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीहरुले राम्रो प्रर्दशन गरेपछि नतिजा आफ्नो अपक्षमा आएको छ ।’

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाण्डौंबीच हुनेछ ।
चैत २५ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको छ । 
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ४ लाख ४० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्