कोरोनाका बेला कोशी प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहर

कोरोनाका बेला कोशी प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहर

विराटनगर । कोशी प्रादेशिक अस्पतालमा कोरोनाका बेला स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रदेश सरकार मातहतको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एचडियु जडान तथा सञ्चालन सामग्री खरिदमा भ्रष्टचार भएको ठहरसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अस्पतालको लागि उपकरण खरिद गर्न स्वास्थ्य निर्देशनालय धनकुटाले आह्वान गरेको बोलपत्रमा न्युन कबोल गर्ने ठेकेदारलाई पन्छाएर अनियमितता रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा १५ को उपदफा ९(ख) बमोजिम पेश भएका कुनै पनि बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरे प्रक्रिया पुरा नभएको बोलपत्र स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन प्रमुख चन्द्रदेव मेहता र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक रहेका ठेकेदार विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बिराटनगरका वायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह बिश्वकर्मा, सदस्य स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ र ठेकेदार कम्पनीका बजार व्यवस्थापक मनोजकुमार आचार्य विरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले उनीहरुविरुद्ध जनही २ करोड ८९ लाख रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार कसुरमा जेल सजाय हुनुपर्ने जिकिर गरेको छ ।

कोभिड महामारीको समयमा कोशी प्रदेशमा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको पाइएकोले मुद्दा दायर भएको विशेष अदालतले जनाएको छ । टेण्डर प्रक्रियामा सहभागी भएका तीवटै ठेकेदार कम्पनीको प्रक्रिया पुरा नभएकोमा प्रक्रिया पुरा भएको भनी मूल्याङ्कन समितिवाट गलत लिखत तयार गरी सबैभन्दा बढी रकम कवोल गर्ने हस्पिटेक इन्टरप्राइजेजको बोलपत्र स्वीकृत गर्ने निर्णय गरी उपकरण खरिद गरेको देखिएको अख्तियारले जनाएको छ ।
तेस्रो हुने र पहिलो हुने फर्महरूद्धारा कवोल गरिएको रकमको अन्तर २ करोड ८९ लाख ६६ हजार ४० रुपैयाँ बढी मूल्य तिरेर खरिद गरेकोले भ्रष्टाचार निवारण ऐन, २०४९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्