कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप क्रिकेटको उपाधि भद्रपुरलाई

कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप क्रिकेटको उपाधि भद्रपुरलाई

बेलबारी । बेलबारीमा सम्पन्न भएको प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुर नगरपालिकाले जितेको छ।

शनिबार बेलबारी नगरपालिका-४ स्थित बेतना खेल युनाईटेड मैदानमा भएको फाइनल खेलमा विराटनगर महानगरपालिकालाई १० रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

टस जितेर भद्रपुरले पहिलो ब्याटिङ गर्दै विराटनगरलाई १९ दशमलव ३ ओभर खेल्दै एक सय ६२ को लक्ष्य दिएको थियो । विराटनगरले १९ दशमलव ५ ओभरमा १० विकेटको क्षतिसहित एक सय ५२ रन मात्र बनाउन सफल भएपछि उपाधि भद्रपुरले जितेको हो । विजेता टिम भद्रपुरले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उप–विजेता विराटनगरले ५१ हजार १ सय ११ रुपैयाँ नगर पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा भद्रपुरका खेलाडी समीर कार्की उत्कृष्ट ब्याटर घोषित भएका छन् । उत्कृष्ट बलरमा विराटनगरका खेलाडी अमन अली घोषित भएका छन् । अलीले प्रतियोगिता भरी १० विकेट लिएका हुन् । प्रतियोगितामा ८१ रनसहित ६ विकेट लिएर विराटनगरका खेलाडी दिपेश कँडेल प्लेयर अफ द सिरिज घोषित भएका छन् । विजेता, उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका नगर उपप्रमुख नितु थापा कोइराला साथै बेलबारी नगर खेलकुद संघ तथा प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि २० क्रिकेट प्रतियोगिता २०८० का अध्यक्ष विजय तोलाङ्गीले प्रदान गरे ।

शनिवारको फाइनल खेलको उद्घाटन प्रदेश सांसद सुवेदीद्वारा क्रिकेट बल अम्पायरलाई प्रदान गरेर भएको थियो । प्राथमिकतामा राखेर क्रिकेट क्षेत्रको विकासमा सधैँ गम्भीर रहेको बताउँदै बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले क्रिकेट संघलाई बेलबारीमा प्राविधिक सहयोग र सुझाव सल्लाह प्रदान गर्न आग्रह गरेका छन् । साथै कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेले बेलबारीमा क्रिकेट क्षेत्रको विकासको लागि सबै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

प्रतियोगितामा आयोजक टिम बेलबारी, भद्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, मेचीनगर नगरपालिका गरी ८ क्रिकेट टिमको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्