विराटनगरमा बिरुवा जगाउने अभियान, कोशी राजमार्गको ‘मेडियन स्ट्रिप्स’ मा सिंचाई

विराटनगरमा बिरुवा जगाउने अभियान, कोशी राजमार्गको ‘मेडियन स्ट्रिप्स’ मा सिंचाई

इन्दु साह
विराटनगर । उत्सव, दिवस र स्मृतिका अवसरमा झ्याप्पै योजना, प्वाक्कै बजेट निकासा गरेर ठाकठुक खर्च गरिहाल्ने प्रवृत्तिको उदाहरण कोशी राजमार्ग अन्तर्गत विराटनगरको रोडशेषदेखि बरगाछीसम्मको मेडियन स्ट्रिप्सका बिरुवा हुन् । संविधान दिवसको अवसरमा एकै पटक हजारौं बिरुवा रोप्ने अभियानको सुरुवात र ग्रिन शहरको भाषण दिएर रोपिएका बिरुवा अहिले सुकिरहेका छन् । मेडियन स्ट्रिप्समा लगाउनु पर्ने प्रजाती बारे जानकारी नहुँदा पनि कतिपय बिरुवाले अनाहकमा प्रकृति बिगारेको आरोप खेप्नु परेको छ ।

दिवसमा रोपिएका बिरुवाले सुख्खामा पाउनु पर्ने जति पानी नपाउँदा संरक्षण हुन सकेको देखिदैन । पानी अभावले राजमार्गबीचका बिरुवा सुकेर उराठ प्रस्तुत गरिरहेका छन् । रोपेको दिनयता यसलाई जगाउनुपर्छ भन्ने न रोप्नेले सोचे, न त देख्नेले !
कसैको नजर नपरिरहेको बेला निःशुल्क अभियान चलाईरहेको दर्शन नेपालले अहिले बिरुवा जगाउन सिंचाई सुरु गरेको छ । कोरोनाकालमा सेनिटाइजिङ्ग गर्ने लक्ष्यसहित जन्मिएको दर्शन नेपाल निःशुल्क अभियान नामक समुहले अहिले बिरुवालाई पानीको भरथेग दिन थालेको हो । यो समुहले निःशुल्क शववहान सेवा समेत दिदैं आएको छ ।

संस्थाका अध्यक्ष दिपक ढकालका अनुसार मेडियन स्ट्रिप्सका बिरुवा जगाउने उद्देश्यसहित ४५ दिने अभियान सुरु गरिएको हो । जसमा सडक बीचमा राज्यका निकायले संस्थागत रुपमा रोपेका बिरुवालाई शहरका लागि जगाउने लक्ष्य राखिएको छ । सुख्यायाम रहँदासम्म दैनिक रोडशेषदेखि दक्षिण मुख्यमन्त्री कार्यालय अगाडीदेखि महेन्द्रचौकसम्मका बिरुवामा पानी हाल्न साँझ ४ बजे यो समुहमा आवद्धहरु पुग्ने गरेका छन् ।

भएका बिरुवालाई सिंचाईको प्रवन्ध गरिने र धेरै खाली भएका स्थानमा नयाँ बिरुवा रोप्ने काम समेत भईरहेको अध्यक्ष ढकालको दावी छ । हालसम्म उनीहरुले ९१ वटा नयाँ बिरुवा समेत त्यहाँ रोपेका छन् । तर, नयाँ रोप्ने भन्दा पनि जागिसकेका तर पानी र मल नपाएर सप्रिने की सुक्ने अवस्थामा भएका बिरुवा संरक्षण गर्ने उनीहरुको काम आसा लाग्दो देखिन्छ ।
गत १७ गतेदेखि सुरु गरिएको यो काम ४५ दिनसम्म निरन्तर रहने दावी छ । उनीहरुको दावी अनुसार दैनिक न्यूनतम एकहजार लिटर पानी बिरुवालाई हालिनेछ । दर्शन नेपाल समुहको आफ्नै ट्याङ्रकीमार्फत दैनिक अपरान्ह बिरुवामा पानी हाल्नका लागि उनीहरु भेला हुने गरेका छन् ।

अभियानको नेतृत्वकर्ता ढकालले बिरुवा रोप्नेले रोपिसकेपछि वास्ता गरेन भनेर अरुले हात बाँध्नु भन्दा दैनिक एक लिटर पानी एउटा बिरुवामा लगाउने सोच आवश्यक रहेको सुझाव दिए । उनले आफ्नै घर, पसल अगाडी बिरुवाले पानी नपाएर सुकिरहेको देख्दा समेत कसैले एउटा बिरुवा संरक्षण गर्ने दायित्व नसम्झने गरेको बताए । त्यहि काम यो अभियानले गर्ने गरी ४५ दिने कार्ययोजना तयार पारिएको छ ।
यस अभियानमा संलग्न ७ जनाले रोडशेषदेखि बरगाछीसम्मका बिरुवालाई सिंचाई गरेर हरियो फर्काउने सोच राखेको बताउँछन् । जसका लागि कुनै संघसंस्थासँग अनुदान वा अन्य कार्यक्रम शिर्षकमा बजेट नदिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्