सामाजिक सद्भाव कायम गरौं

सामाजिक सद्भाव कायम गरौं

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो । यो उपलब्धी  नेपाली जनताले आफ्नो राजनीतिक अधिकार प्राप्त गर्न हाँसिल गरेका हुन् । नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । त्यो विश्वमा विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गरी सामञ्जस्य र सद्भावपूर्ण सामाजिक एकता प्रदर्शन गर्ने उदाहरण हो । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित, बलियो राष्ट्र निर्माणको आधार सिर्जना गरेको छ ।

धर्मनिरपेक्षताको माध्यमबाट राज्यले प्रत्येक धार्मिक आस्थालाई स्वतन्त्रता दिएको छ । एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको छ । मानिसको संवेदनशील धार्मिक भावनामा खेल्ने स्वार्थपूर्ण विचार बोकेका तत्वले अन्त्यहीन द्वन्द्वमा खसालिदिन चाहन्छन् । जसलाई हामी सबैले बुझ्नु पहिलो दायित्व हुनुपर्दछ ।
नेपालको ऐतिहासिक सामञ्जस्यपूर्ण, सद्भावयुक्त समाजमा तनाव सिर्जना गर्न बाह्य शक्ति पनि कतिपय अवस्थामा लक्षित छन् । यस्ता प्रकारका गतिविधिको छिटाको उदाहरण नेपालगन्जमा केहि अगाडी देखिएको थियो । पछिल्लो घटना सुनसरीमा देखियो । नेपालगञ्जमा सामाजिक शान्ति कायम गर्न तनावको सहिष्णुपूर्ण व्यवस्थापन त्यहिंका बासिन्दाले गरेका थिए । सुनसरीमा पनि सहनशील र सद्भावपूर्ण नेपाली चरित्र प्रकट हुनु जरुरी छ ।

मुख्यकुरा खुल्ला रहेको सामाजिक सञ्जालमा अमुक व्यक्तिले फरक धार्मिक आस्थाका समुदायलाई लक्ष्यित गरेर लेखेको वा बोलेका कुरा आधिकारिक हुन सक्दैनन् । संविधानको परिधी भित्र बसेर राज्य सञ्चालनमा भूमिका खेल्ने व्यक्तिहरुले धर्मका आधारमा कसैमाथि दुराग्रह राख्ने अवस्था छैन । सुनसरीमा युवाहरुबीचको विवादलाई धार्मिक रुप दिएर त्यसलाई मलजल गर्ने कार्यको विरोध विवेकपूर्ण ढंगबाट त्यहिंका स्थानीयवासीले गर्नुपर्दछ । त्यहाँको अहिलेको परिस्थितलाई नियन्त्रण गर्ने एक मात्रै उपाय भनेको बाहिरबाट प्रवेश गर्नेहरुलाई रोक्नु र आफ्नो गाउँ भित्रका कुरा त्यहिंका भद्रभलाद्मी बसेर समाधान खोज्नु उत्तम विकल्प हो ।

अहिले आउने समस्या भनेको सूचना प्रविधिको सदुपयोगले विकास खोज्नु भन्दा यसको दुरुपयोग गरेर विनाश निम्त्याउन उद्देलित हुनु हो । पछिल्ला घटनामा सामाजिक तनावको कारण सामाजिक सञ्जालको दुरुपयोग देखिन्छ । जसलाई राज्यले नियमन गर्नु जरुरी छ । कुनेपनि हिंसात्मक अभिव्यक्तिले घटना, विषयलाई विस्तार गर्ने र त्यसलाई धार्मिक मान्यता दिएर विद्वेष फैलाउने कार्य सहिष्णुतापूर्ण नेपाली समुदायका लागि हानिकारक हुनेछ । सुनसरीमा प्रारम्भ देखिका घटनाक्रम केलाएर राज्यले अनुसन्धान गर्ने, कारवाहीको दायरामा ल्याउनुपर्नेहरुलाई नियन्त्रणमा लिनु पर्दछ ।

सामाजिक सञ्जालमा आधारहीन कुराहरू राख्ने, जातीय, धार्मिक, सांस्कृतिक भेदभाव वा दुर्भावलाई दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कुरालाई कसैले पनि बढाउन हुन्न । नागरिकको कर्तव्य भनेको सामाजिक सद्भावलाई कायम गराउनु पनि हो । नेपालको भूगोल सानै भएपनि यहाँ बसोबास गर्ने एक सयभन्दा बढी जातजातिको मन सधैं ठुलो छ । साझा फूलबारीमा फूलेका नेपालीहरुको पहिचान विविधताको एकता हो । हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतामा हामी सबै एकत्रित हुन सक्नुपर्दछ । सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा अनुबन्धित नेपाली सबै धर्मप्रति समान आदर गर्ने विश्वका उदाहरणीय नागरिक बन्नु जरुरी छ । समाजमा विभेद र विद्वेषले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्धमा खलल पुग्न जान्छ । जसले प्रतिशोध र द्वन्द्व निम्तिने खतरा बढाउँछ । जातीय, धार्मिक, सांस्कृतिक संवेदनामा गर्न खोजिने राष्ट्रघाती कार्यले जन्माउने घातक परिणामप्रति आधुनिक युगका नेपाली सचेत हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्