हेरचाह सेवामा नेपाली युवा इजरायल जाँदै

हेरचाह सेवामा नेपाली युवा इजरायल जाँदै

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारवीच केयरगिभरका रुपमा काम गर्न जानेगरी केही युवाको स्वास्थ्य परीक्षण गरिएको छ।

इजरायलमा केयरगिभरको काम गर्न भनेर ४२५ युवाको स्वास्थ्य परीक्षण भएकामा तीमध्ये २१ को करार सम्झौता भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

द्वन्दग्रस्त देश इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा त्यहाँ जान पाएका हुन् । लामो कुटनीतिक सम्वादपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने वचन दिएपछि यो अवस्था आएको मन्त्रालय सम्बध्द सूत्रले बताएको छ । इजरायलमा सहायक श्रमिकका रूपमा विभिन्न वृद्धाश्रममा काम गर्न जान छनोटमा परेका युवा युद्धका कारण एक वर्षसम्म जान नपाएर अन्योलमा थिए । यो अवस्थामा केयरगिभरको आवश्यकता निकै बढेकाले इजरायले नेपाली युवा लैजान श्रम सम्झौता गर्ने तत्परता देखाएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार, अहिलेसम्म २१ नेपाली रोजगारदातासँग श्रम सम्झौता गरिसकिएको छ । छनोट भएर स्वास्थ्य परीक्षण गरिसकेका ४२५ युवामध्ये तीन हप्ताभित्र २५२ युवाको श्रम सम्झौता गर्ने गरी इजरायलका रोजगारदाता कम्पनीले काम थालेका छन् । दुई वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्न प्राथमिकता दिएपछि धेरै युवाको इजरायल जाने सपना पूरा हुन लागेको छ।

यसअघि एक हजार १०५ युवा इजरायल गइसकेका छन् । इजरायलस्थित नेपाली दूतावासले युद्धअघि तत्कालका लागि ५०० माग र थप ५०० लागि छलफल छलफल गर्ने भनेको थियो । यसअघि नै पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिवा) सँगको छलफलमा नेपालबाट एक हजार केयरगिभर लैजानेबारे अनौपचारिक छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । तर तेस्रो चरणमा माग गर्ने भनिएको ५०० जनाका बारेमा भने थप छलफल गरेपछि मात्र कोटा तय हुने दूतावासले जनाएको छ । आवास क्षेत्रमा दिइने केयरगिभर सेवाको तुलनामा दुइ देशका सरकारहरुवीचको सम्झौता (जिटुजी)अनुसार जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्न रुचि देखाएको छ ।
सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि म्यानपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लान रोकेकोे थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो । नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य र जीवन वीमा सहित व्यक्तिगत सुरक्षाका प्रवन्धहरु भरपर्दो भएकाले इजरायल जान नेपाली युवा उत्सुक देखिएको विभागका एक उच्च अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्