अन्तरप्रदेश खेलकुद : कोशीले जित्यो ७ स्वर्णसहित १६ पदक

अन्तरप्रदेश खेलकुद : कोशीले जित्यो ७ स्वर्णसहित १६ पदक

विराटनगर । चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट सुरुआत गरेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धामा १६ पदकसहित कोशीले उत्कृष्ट सुरुआत गरेको हो ।

कोशीले ७ स्वर्ण, तीन रजत र ६ कास्य गरी १६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । उनका अनुसार अरू प्रतियोगितामा पनि कोशीले अग्रता बनाएको छ ।

सोमबार भएको तेक्वान्दो खेलको सिंगल पुम्सेतर्फ कोशीकी सुशीला राईले स्वर्ण जितिन् । भरतपुर कबर्डहलमा भएको स्पर्धामा तीन खेलाडीमाथि हाबी बनेर राईले स्वर्ण जितेकी हुन् । महिलाको १८ देखि ३० वर्षसम्मको उमेर समूहमा राईले स्वर्ण दिलाएकी हुन् ।

यस्तै, पियर पुम्सेतर्फ विवेक राई र सुशीला राई प्रथम हुँदै स्वर्ण जितेका छन् । ग्रुप पुम्से महिलामा सुशीला राई, शान्ति राई र सुविक्षा राईको समूहले स्वर्ण हात पार्दा पुरुषतर्फ विवेक राई सुदेश राई, टेकप्रसाद लिम्बू प्रथम भए ।

एथ्लेटिकतर्फ त्रिपल जम्पतर्फ कोशीकी रोजिना कुमालले स्वर्ण हात पारिन् । कराते ८४ किलो उमेर समूहमा ईश्वर धनराईले स्वर्ण जिते भने सय मिटर महिला दौडमा दोस्रो हुँदै आरती चौधरीले रजत पदक जितिन् । पुरुष सय मिटर दौडमा सुमित गच्छदारले रजत पदक हात पारे ।

त्यस्तै, करातेको सिंगल कातातर्फ विवेक राईले रजत जिते सिंगल महिला कातातर्फ रोश्मा राईले रजत हात पारे । करातेकै सिंगल फाइटिङमा ५० केजी तौल समूहमा दिव्या तामाङले रजत जितिन् ।

यस्तै, सिंगल पुम्से विधामा पुरुषतर्फ तेस्रो हुुँदै विवेक राईले कास्य जिते । स्वीमिङतर्फ भने कोशीले तीन कास्य जितेको छ भने तेक्वान्दोमा दुई कास्य हात पारेको छ ।

पदक जित्ने खेलाडीलाई प्रोत्साहन प्रदान गर्न कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले व्यक्तिगत रूपमा नगदसहित पुरस्कृत गरेका थिए । नगद पुरस्कार दिँदै वाग्लेले छोटो समयको क्लोज क्याम्पका कारण प्रदेशका खेलाडीहरूले उत्कृष्ट नतिजा ल्याएको बताए ।

तथापि, आयोजक बागमति खेलकुद विकास परिषद्ले समाचार तयार पार्दासम्मको आधिकारिक नतिजा भने सार्वजनिक गर्न सकेको छैन । यसबाट आयोजकको सूचना संयन्त्र कमजोर भएको बुझिएको प्रशिक्षकहरूले गुनासो गरेका छन् ।

यसैगरी, महिला फुटबलतर्फ गण्डकी प्रदेशलाई हराउँदै कोशीले विजयी सुरुआत ग¥यो । सोमबार बखान स्मृत रंगशालामा भएको खेलमा गण्डकीलाई ८–० गोलान्तरको फराकिलो जित निकालेको कोशीले सेमिफाइनलमा स्थान बनायो ।

कोशीको जितमा जेनिफर मगरले तीन गोल गर्दा सञ्जुमाया तामाङ र समीक्षा मगरले दुई–दुई र ममता राउतले एक गोल गरिन् । अब, मंगलबार कोशीले फाइनल प्रवेशका लागि मधेसको सामना गर्ने छ ।

पुरुष फुटबलमा कोशीले मधेसलाई २–० गोलले हराउँदा वसन्त ओझा र स्मिथ तामाङले एक–एक गोल गरे । हेटौंडाको गौरीतारा रंगशालामा मधेसलाई हराएको कोशीले सेमिफाइनलमा प्रवेश ग¥यो ।

महिला क्रिकेटतर्फ फाइनल पुगेको कोशीले स्वर्ण पदकका लागि मंगलबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । पुरुष भलिबलतर्फ भने पहिलो चरणको खेलमा कोशीले गण्डकीमाथि चार सेटमध्ये तीन सेटमा जित निकाल्यो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र भरतपुर महानगरपालिकाको समन्वयमा जारी प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । सोमबारबाट सुरु भएका विविध नौ वटा स्पर्धामा सहभागिता जनाउन कोशीबाट दुई सय २१ खेलाडीसहित दुई सय ५३ चितवन आएका छन् ।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो । पुरुष क्रिकेट चैत २८ गतेदेखि हुनेछ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख १ गते हुनेछ ।

प्रतियोगितामा पाँच हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्